सरकारले डा. राजनविक्रम थापालाई नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्षले सबैभन्दा पहिले बीमा व्यवसायको आकार बढाउनु मात्र नभई नेपाल बीमा प्राधिकरणलाई कानूनको शासनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक संस्थाका रूपमा विकसित गर्ने तर्फ थालिएका प्रयासहरूलाई परिणाम दिनुपर्ने हुन्छ।
बीमा क्षेत्रको विकास केवल कम्पनीहरूको नाफा, बीमाशुल्क संकलन वा बजार विस्तारबाट मापन हुन सक्दैन। बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।
नेपाल राष्ट्र बैंकमा हासिल गरेको उहाँको अनुभव उपयोगी हुन सक्छ। तर, बीमा क्षेत्रका विशिष्ट जोखिम र संस्थागत समस्याको समाधानका लागि स्वतन्त्र निर्णय क्षमता, प्राविधिक दक्षता र कानुनको समान कार्यान्वयन आवश्यक हुनेछ।
उहाँको नेतृत्वको वास्तविक परीक्षा बीमा कम्पनीहरूलाई नियमन गर्ने अधिकार प्रयोग गर्नमा मात्र होइन, प्राधिकरण स्वयंलाई पनि कानुन, पारदर्शिता र सार्वजनिक जवाफदेहिताको अधीनमा राख्न सक्नुमा हुनेछ।
प्राधिकरणको आर्थिक वर्ष २०८२०८३ को तथ्यांकअनुसार बीमा कम्पनीहरूको कुल लगानी करिब ९ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ।
कुल बीमाशुल्क संकलन करिब २ खर्ब ५३ अर्ब रुपैयाँ छ। यति ठूलो वित्तीय क्षेत्रको नियमन गर्दा कम्पनीहरूको पुँजी पर्याप्तता, दायित्व पूरा गर्ने क्षमता, लगानीको सुरक्षा, जोखिम एकाग्रता र पुनर्बीमा व्यवस्थाको प्रभावकारी परीक्षण आवश्यक हुन्छ।
बीमा बजार विस्तार भइरहेको देखिए पनि ग्रामीण क्षेत्र, कृषि, पशुपालन, साना व्यवसाय तथा न्यून आय भएका नागरिकसम्म गुणस्तरीय बीमा पुर्याउनुपर्ने चुनौती बाँकी छ। बीमालेखको सङ्ख्या मात्र बढाएर पुग्दैन । बीमा संरक्षणको वास्तविक उपयोगिता पनि बढ्नुपर्छ।


