काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ, बागमती प्रदेश लगायत बाँकी उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ।


