काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ।
महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो।
सोमबार राजधानीमा आयोजित समारोहमा ज्योत्सना श्रेष्ठ(उपाध्यक्ष एसोसिएट) , उमेश डालमिया (उपाध्यक्ष जिल्ला नगर), कल्पना गैरे (उपाध्यक्ष जिल्ला नगर), नरेशलाल श्रेष्ठ (उपाध्यक्ष वस्तुगत), कमला श्रेष्ठ (प्रस्तावित महिला उपाध्यक्ष)मा उम्मेदवारी घोषणा गरेका छन्।
यसअघि ढकालले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरी तयारी गर्दै आएका छन्।ढकाल अहिले महासंघको वस्तुगततर्फको उपाध्यक्ष हुन्।
महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ। नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष हुनेछन भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ।
महासंघ अध्यक्षको प्रत्यक्ष निर्वाचन
महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ।
यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने भएको छ।
भवानी राणाको पालादेखि विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएको थियो। वहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए।
संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जनाको व्यवस्था गरिएको छ। हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक जना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ।
विशेष साधारणसभा आउँदो मंसिर २५ गते हुने भएको छ। साधारणसभाले अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने कार्ययोजना रहेको छ।
महासंघको कार्यकारणी समितिको वैठकले वर्तमान वरिष्ठ उपाध्यक्ष र अर्को वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विद्यान संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।
महासंघको विद्यान संशोधन गरेर पहिलाको अवस्था अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नका लागि कार्यकारणी समिति बैठकले अनुमोदन गरिसकेको छ। सो प्रस्तावलाई पारित गर्न महासंघले मंसिर २५ मा विशेष साधारणसभा बोलाएको छ।


