काठमाडौँ: नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि करिब डेढ करोड रुपैयाँ सहयोग जुटेको छ।
मंगलबार सामाजिक सञ्जालमार्फत् साम्बाले उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको जानकारी दिएकी छन्।
प्रायोजन गर्ने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गरेको उनले बताएकी छन्। यसले उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने उनको भनाइ छ। पुग्दो रकम प्राप्त भैसकेकाले सहयोग रकम रोकिदिन आग्रह उनले गरेकी छन्।
उठाइएको रकम साम्बाको एसीएल शल्यक्रिया र ६–७ महिनाको पुनःस्थापनामा खर्च हुने बताइएको छ, जसको अनुमानित लागत करिब ८० हजार अमेरिकी डलर रहेको छ।


