काठमाडौँ: पछिल्लो समय आर्थिक गतिविधि कम हुँदा मुलुककको समग्र अर्थतन्त्र नै सुस्त भएको छ। उद्योगी व्यवसायीहरू लगानी गर्न हिच्किचाइरहेका छन्, उनीहरू ‘पर्ख र हेर’को अवस्थामा छन्। यस्तो बेलामा व्यावसायिक घरनाहरू भाटभटेनी सुपरमार्केट ग्रुप र एलए ग्रुपको संयुक्त लगानीमा गार्मेन्ट उद्योग सञ्चालनमा आउने भएको छ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ र एलए ग्रुपका अध्यक्ष उमेश श्रेष्ठले संयुक्त लगानीमा गार्मेन्ट गियर प्राइभेट लिमिटेड सञ्चालमा ल्याउन लागेका हुन्। गार्मेन्ट उद्योगको शिलान्यास गत जेठ २१ मा गुरुङले गरेका थिए। हालसम्म ३४ प्रतिशत वित्तीय प्रगति भएको उद्योगले जनाएको छ। हाल गार्मेन्ट उत्पादन प्लान्ट जडानका लागि पूर्वाधार निर्माण भइरहेको छ। गार्मेन्ट प्लान्ट रुपन्देहीको रोहेणी गाउँपालिकामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) भित्र छ।
उद्योगले अमेरिका, क्यानडा, युरोप र भारत जस्ता उच्च सम्भावित अन्तर्राष्ट्रिय बजारहरूलाई लक्षित गरेको छ। गार्मेन्ट उद्योग स्थापना गर्न ८० करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसअनुसार ६० करोड ऋण र २० करोड ४० लाख रुपैयाँ संस्थापकहरूको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। हालसम्म संस्थापकहरूबाट १५ करोड रुपैयाँ बढी( ७४ प्रतिशत) इक्विटी लगानी भइसकेको छ।
उद्योगबाट उत्पादन हुने गार्मेन्ट निर्यातका साथै स्थानीय बजारमा बिक्रीका लागि विशेषगरी भाटभटेनी सुपरस्टोरमा राखिने भएको छ।
उद्योगले वार्षिक ५७ करोड ६० लाख युनिट विभिन्न किसिमका डेनिम बटम्स, लेगिङ्स, जेगिङ्स, ट्रेगिङ्स, प्यान्ट, शर्ट र निटवेयरसहित उच्च गुणस्तरका बुनेका कपडाहरू उत्पादन गर्ने लक्ष्य राखेको छ। कपडा उद्योगका लागि आवश्यक प्रमुख वस्तु कच्चा पदार्थ हो। कम्पनीले कच्चा पदार्थहरू चीनबाट आयात गर्ने योजना बनाएको छ।
विशेष आर्थिक क्षेत्रमा सञ्चालित गार्मेन्ट उत्पादकहरूले विशेष आर्थिक क्षेत्र ऐन, २०७६ अन्तर्गत कर प्रोत्साहन पाउदै आएका छन्। यी प्रोत्साहनहरूमा सञ्चालन सुरु भएको पहिलो पाँच वर्षको आयकरमा १०० प्रतिशत छुट, त्यसपछि छ देखि १० वर्षसम्म आयकरमा ५० प्रतिशत सहुलियत पाउने व्यवस्था छ। निर्यातमा आधारित गार्मेन्ट उत्पादकहरूले सञ्चालन अवधिभर आयातित कच्चा पदार्थ र मेसिनरीमा भन्सार महसुलबाट पूर्ण छुटबाट लाभ उठाउँछन्।
उद्योगमा गुरुङको अध्यक्षतामा छ जना सञ्चालक समिति रहेको छ। गुरुङ मुलुकका एक प्रख्यात नेपाली उद्यमी हुन् जसले भाटभटेनी सुपरमार्केट चेन स्थापना गरेर यसलाई नेपालको अग्रणी खुद्रा चेनमा रूपान्तरण गरेका छन्। यस्तै अर्का निर्देशक श्रेष्ठसँग शिक्षा क्षेत्रमा दशकौंको अनुभव छ।
गुरुङ र श्रेष्ठको संयुक्त लगानीमा चितवनमा एग्रिवस्तु कोल्डस्टोरेज, आठ अर्ब रुपैयाँ लगानीमा यि दुई व्यवसायिक समूहले होटल डेल अन्नपूर्ण खरिद गरेर नयाँ होटल बनाइरहेका छन्। निर्माणाधीन होटल आगामी २०८५ वैशाखबाट सञ्चालनमा ल्याउने जानकारी गुरुङले दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा होटलको प्रवर्धन गर्न आइटिसीसँग व्यवस्थापन सम्झौता गरेको छ।
गार्मेन्ट गियरको स्थापना गत वर्ष भएको हो। उद्योगले डेनिम बटम्स, लेगिङ्स, जेगिङ्स, ट्रेगिङ्स, प्यान्ट, शर्ट र निटवेयर सहित उच्च गुणस्तरका बुनेका र बुनेका कपडा उत्पादन गर्ने लक्ष्य राखेको छ। सन् २००५ मा मल्टिफाइबर एग्रिमेन्टअनुसार गरिव मुलुकहरूले अमेरिकामा पाउँदै आएको भन्साररहित कोटा प्रणाली खारेज भएपछि नेपालबाट गार्मेन्ट निर्यात निरन्तर ओरालो लाग्दै आएको छ। एक समयमा गार्मेन्ट सबैभन्दा बढी निर्यात हुने वस्तुमा गनिन्थ्यो।


