काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसपटकको होलीमा सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ। फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते नेपालीहरूले मनाउन लागेको होलीमा शान्ति सुरक्षाका लागि सार्वजनिक ठाउँमा होली खेल्न प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
सार्वजनिक स्थानमा भिडभाड गर्ने, मेला महोत्सव आयोजना गर्ने र मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको आचारसंहितालाई मध्यनजर गर्दै प्रशासनले होलीका नाममा राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार हुने खालका गतिविधिमा पनि प्रतिबन्ध लगाइएको छ। निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कसैले पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, फोटो अंकित टिसर्ट, टोपी, गम्छा, मास्क वा लकेट प्रयोग गर्न पाउने छैनन्। यस्ता सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको र उल्लंघन गर्नेलाई कानुनी कारबाही हुने चेतावनी दिइएको छ।
प्रशासनले कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, पानीको फोहोरा हान्ने र जबरजस्ती गर्ने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्तै, मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादा र शान्ति खलल पुर्याउने, होहल्ला गर्ने वा झैझगडा गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ।
प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आफ्नो घरको कम्पाउण्डभित्र आफन्त र परिवारजनसँग मात्र होली मनाउन अनुरोध गरेको छ। सार्वजनिक सडक र खुला स्थानमा भेला भई उच्छृङ्खल गतिविधि नगर्न र अरूको अधिकारको हनन नगर्न समेत सचेत गराइएको छ।
सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ को व्यवस्थालाई समेत स्मरण गराउँदै प्रशासनले चाडपर्वका नाममा अनावश्यक तडकभडक र खर्चिला कार्यक्रम नगर्न सबैमा अपिल गरेको छ।


