काठमाडौं।अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाइ आक्रमण गरेपछि पेट्रोलियम पदार्थ उत्पादन हुने मध्यपूर्व अहिले अशान्त छ।
शनिबार अमेरिका र इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेपछि सर्वोच्च नेता आयतोल्लाह खमेनीको मृत्य भयो। त्यसको जवाफमा इरानले सउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स(युएई)लगायत मुलुकहरुमा हवाइ आक्रणलाई तीव्र बनाएको छ। युद्ध जारी छ।
असुरक्षाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर ब्यारेलको ७८ डलर पुगेको छ।
यद्यपि, मध्यपूर्वमा देखिएको युद्धको प्रभाव पेट्रोलियम आपूर्तिमा नपर्ने नेपाल आयल निगमले जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डीका भट्टले अमेरिका इरान युद्धले नेपालमा पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै असर नपर्ने बताए। भारतीय आयल कर्पोरेशन(एनओसी) सँग भएको सम्झौताअनुसार नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति हुने उनले स्पष्ट पारेका छन्।
नेपाल क्लिक्ससँग कुरा गर्दै कार्यकारी निर्देशक भट्टले भने ‘तेलको मूल्य बढ्न सक्छ, तर आपूर्तिमा कुनै समस्या हुनेछैन्।’
‘पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रुपमा भइरहेको छ। आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको मौज्दात रहेको छ। तसर्थ, पेट्रोलियम पदार्थको अनावश्यक जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाइ मध्यनजर गरी भर्न निषेध गरिएको छ’ उनले भने।
सम्भावित आगजन्य दुर्घटनाको जोखिम न्यूनिकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरि सहयोग गरिदिन निगमले अनुरोध गरेको छ।
मध्यपूर्वमा युद्ध सुरु भएपछि नेपालमा पेट्रोलिलयम पदार्थको अभाव हुने भन्दै आइतबारदेखि नै पेट्रोल पम्पहरुमा लाइन बढेका छन।
आइओसीसँग प्रत्येक पाँच वर्षमा सम्झौत हुने गरेको स्मरण गराउँदै उनले सोहीअनुसार आपूर्ति भइरहेने प्रष्टपारे। भारतीय बजारको तुलनमा नेपालमा तेलको माग एक प्रतिशत भन्दा कम रहेको उनले सुनाए।
आइतबार केही पेट्रोल पम्पमा लाइन देखिए पनि सोमबारदेखि पेट्रोलियम आपूर्ति सहज हुने निगमको भनाई छ।
‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि स्वतः वृद्धि हुन्छ। तर तत्काललाई पेट्रोलियम पदार्थको अभाव हुँदैन । किनकि यस विषयमा भारतसँग द्विपक्षीय सम्झौता छ’ उनले भने।
आयल निगमलाई आइओसीले प्रत्येक १५ दिनमा तेलको भाउ पठाउने गरेको छ।
नेपालले पेट्रोलियम पदार्थ आयात आइओसीबाट गर्छ। उसले खाडी मुलुकबाट कपच्चा तेल ल्याउने गर्छ।
इरानविरुद्ध अमेरिका–इजरायलले ओपेक प्लस (तेल निर्यात गर्ने देशहरु तथा सहयोगी देशहरुको समूह) का सदस्य देश इरानविरुद्ध युद्ध गरेपछि र तेहरानको प्रतिशोधले मध्यपूर्वमा तेल ढुवानीमा अवरोध भएको छ ।
ओपेक प्लसको बैठकमा आइतबार दैनिक एक लाख ३७ हजार ब्यारेलदेखि ५ लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन गर्ने विकल्पमाथि छलफल भएको बताइएको छ। आउँदो अप्रिलदेखि दैनिक दुई लाख छ हजार ब्यारेल तेल उत्पादन बढाउने सहमति भएको बताइएको छ।
आयल प्राइस डटकमका अनुसार मुरवान क्रुडमा कच्चा तेलको भाउ बढेर ७७.७६, ब्रेन्ट क्रुडमा ७६.२५ र डब्ल्युटीआई क्रुडमा ६९.८४ डलर पुगेको छ। अमेरिका र इरानबीच जारी युद्ध लम्बिए कच्चा तेलको भाउ केही दिनभित्र ब्यारेलको १०० डलर पुग्ने विश्लेषकहरुको अनुमान छ।
२०७८ माघदेखि रुस युक्रेन युद्ध सुरु भएपछि कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। पछि घेटेर ५६ डलर आसपासमा आएको थियो।
यो वर्ष विश्व तेल बजार कमजोर रहने अनुमान गरिएको थियो। तर, अमेरिका इरान युद्धले यो प्रक्षेपणलाई फरक पार्ने देखिएको छ। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को तेलको भाउ २०२६ को अन्त्यमा ब्यारेलको ६२ डलरमा रहने अनुमान तेल कम्पनीहरुले गरेका छन्।
जुन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ को लागि प्रक्षेपण गरेको औसत ६५.३२ प्रति ब्यारेल भन्दा कम हो। एजेन्सीले २०२६ मा ब्रेन्ट क्रूडको औसत मूल्य ब्यारेलको ५५.०८ डलर हुने अनुमान गरेको छ। डब्ल्युटीआईको औसत ५१.४२ ब्यारेल हुने अपेक्षा गरिएको छ।
यस्तै आगामी सन् २०२७ र २०२८ मा कच्चा तेल ब्यारेलको औसत ६९, २०२९ र २०३० सम्ममा ब्यारेलको ७५ डलर हुने अनुमान गरिएको छ। कच्चा तेलका साथै सुन र डलरको भाउ उकालो लागेको छ। विश्वमा महंगी बढ्ने संभावना देखिएको छ।


