काठमाडौँ: जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सर्वोच्च अदालत जलाएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार जिल्ला अदालत काठमाडौँमा आपराधिक उपद्रव र डाँकासम्बन्धी मुद्दा दायर गरेको हो।
प्रहरी वृत्त बौद्ध जलाएको आरोपमा समिर श्रेष्ठ र सुनिल तामाङ, सिंहदरबार मूलगेट तोडफोडको आरोपमा आशिष गुरुङ, प्रहरी प्रभाव बलम्बु तोडफोडको आरोपमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्कामगर र रमेश विक भन्ने छत्रबहादुर विकविरुद्ध मुद्दा दायर भएको हो।
यस्तै सर्वोच्च अदालत जलाएको आरोपमा ब्राउन भन्ने सुशील श्रेष्ठ, ज्योती थापा घताने, विनोदकुमार थापा, एलेक्स भन्ने कुमार पराजुली र सम्राट भन्ने राजु परियारलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध क्षतिपूर्तिस्वरूप १ अर्ब २३ करोड ६२ लाख २८ हजार ५२ रुपैयाँ बिगो मागदाबी गरिएको छ। साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरुबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराइपाउँ भन्ने मागदावी पनि गरिएको छ।
सर्वोच्च अदालतले जलाएको आरोपमा पक्राउ परेका नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णुप्रसाद ढुङ्गेलविरुद्ध भने मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ। उनी घटनास्थलमा उपस्थित भएको फुटेजबाट नदेखिएको र अन्य प्रतिवादीले पनि उनलाई नपोलेको देखिएकाले मुद्दा नचलाउने निर्णय भएको हो।


