काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ताको निर्णयविरुद्धको रिटमा सुनुवाई हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ।
पेसीसूचीको पहिलो नम्बरमा यो मुद्दा रहेकोमा पेसी स्थगित वा हेर्न नमिल्ने नभएमा आजै यसमा आदेश आउने सम्भावना रहेको छ।
गत पुस ३० गते सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको महान्यायाधीवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न जिल्लामा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित जिल्लाका जिल्ला सरकारी वकिल कार्यालयलाई स्वीकृति प्रदान गरेको थियो।
महान्यायाधीवक्ता सविता भण्डारीले कास्की, काठमाडौँ, रूपन्देही र पर्सा जिल्लामा दायर मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को कसुर फिर्ता लिनेगरी अभियोगपत्र संशोधनको निर्णय गरेकी थिइन्। सोबमोजिम मुद्दा फिर्ताका लागि सम्बन्धित जिल्ला सरकारी कार्यालयमा पत्र पठाइएको थियो।
महान्यायाधीवक्ताको उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि सर्वोच्चले मुद्दा फिर्ता लिनुका कारणसहित महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा फिर्ता लिन फेला परेका थप प्रमाणसहित छलफलका उपस्थित हुन आदेश गरेको थियो।


