काठमाडौँ: याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले काठमाडौंमा बाइक चालकहरूका लागि सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी ओरियन्टेसन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी चालकहरूलाई ट्राफिक नियमको पालना, जिम्मेवार सवारी सञ्चालन, दुर्घटना न्यूनीकरण तथा यात्रुप्रति सम्मानजनक व्यवहारबारे प्रशिक्षण प्रदान गरिएको थियो। साथै, सहभागीहरूलाई हेल्मेटलगायत सुरक्षात्मक सामग्री वितरण गरिएको थियो। बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा राइड–हेलिङ सेवामा आबद्ध चालकहरूलाई सुरक्षित सवारी अभ्यास अपनाउन प्रेरित गरिएको आयोजकले जनाएको छ।
याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले चालक र यात्रुको सुरक्षा प्राथमिकतामा रहेको बताउँदै यस्ता कार्यक्रमले सुरक्षित शहरी यातायात वातावरण निर्माणमा सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरीका एसएसपी नवराज अधिकारीले ट्राफिक नियमको पालना र सुरक्षित सवारी बानी अपनाउन चालकहरूलाई आग्रह गरे।


