काठमाडौँ: निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा चुनावी सरगर्मी बढेको छ। यही चैत २८ र २९ गते हुने महासंघको ६० औँ वार्षिक साधारणसभाले चार जना उपाध्यक्ष र कार्यसमितिको चयन गर्ने छ। त्यसपछिको चुनावले महासंघको वरिष्ठ उपाध्यक्षको चयन गर्ने भएको छ।
यस्तै महासंघका अध्यक्ष हुन लागेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले प्यानल बनाएका छन्। यद्यपि अञ्जन समूहले एसोसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, जिल्ला नगरको तर्फबाट उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन्।अञ्जनको आज प्यानल घोषणा हुँदछ।
आगामी कार्यकालका लागि अञ्जन स्वतः महासंघको अध्यक्ष बन्ने निश्चित भए पनि वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा हुने भएको हो। नेतृत्व चयन गर्ने भएपछि उद्योगी व्यवसायीहरू दुई कित्तामा विभाजित भएर चुनावी मैदानमा उत्रिएका छन्। वस्तुगत उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्षसहित प्यानल घोषणा गरेका छन्।
महासंघको ६० औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष, एसोसियट, वस्तुगत र जिल्ला तथा नगरका लागि दुई उपाध्यक्ष र कार्यकारिणी समितिको निर्वाचन हुनेछ।
ढकाल हाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष छन्। वरिष्ठ उपाध्यक्ष दावी गरेका ढकाल प्यानलबाट एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगतमा नरेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षहरूमा कल्पना गैरे र उमेश डाल्मियाले उम्मेदवारी घोषणा गरेका छन्। ज्योत्सना हाल महासंघको एसोसियट्तर्फको उपाध्यक्ष र गैह्रै कार्यकारणी सदस्य छिन्।
यसपालिको चुनावमा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दिने भएका छन्।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका पूर्वअध्यक्ष, कत्था उद्योग संघका अध्यक्ष, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष भएका घिमिरे महासंघको राजनीतिमा परिपक्व खेलाडी हुन्।
उनले पेट्रोलियमदेखि जलविद्युतसम्म लगानी विस्तार गरिरहेका छन्। यस्तै प्रवलको औषधी, सिमेन्टका साथै बैंक तथा वित्तीय संस्थामा लगानी रहेको छ।


