काठमाडौं – बिहीबार राति इटालीलाई हराउँदै स्पेनले युएईफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ। नेदरल्यान्ड्समा सम्पन्न भएको सेमीफाइनल खेलमा इटालिमाथि २–१ को जित निकाल्दै स्पेनले फाइनल यात्रा तय गरेको हो।
खेलको तेस्रो मिनेटमै गोल गर्दै येरेमी पिरोले स्पेनलाई अग्रता दिलाएका थिए। तर इटालीले खेलको ११ औं मिनेटमा नै अग्रतालाई बराबरी गरिहाल्यो। इटालिका लागि सिरो इमोबिलेले गोल गरेका थिए।
इमोबिलेले पेनाल्टीमार्फत् गरेको गोलपछि खेलको पहिलो हाफसम्मको नतिजा १–१ को बराबरी रहेको थियो।
खेलको निर्धारित समय सकिनुभन्दा दुई मिनेट अघि मात्र स्पेनले गोल गरेको थियो। स्पेनका जोसेलुले ८८ औं मिनेटमा गोल गरेसँगै उसले जित निश्चित गरेको हो। अब आउँदो १९ जुनमा हुने फाइनल खेलमा स्पनेले क्रोएसियाको सामना गर्नेछ।
इटालीले भने तेस्रो स्थानको लागि आयोजनक नेदरल्यान्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्समाथि ४–२ को जित निकाल्दै क्रोएसिया फाइनलमा पुगेको थियो।


