उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। जनता समाजवादी पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार बनाएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसलगायतका दलको समर्थन पाएर उपराष्ट्रपति निर्वाचित यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।
शपथ लिनुअघि यादवले जसपाको साधारण सदस्य तथा सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उल्लेख गर्दै राजीनामा दिएका छन्। उनी जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य, संसदीय दल नेतासमेत थिए। उनले सांसद पदबाट पनि राजीनामा दिएका छन्।
गत मंसिर ४ मा भएको चुनावमा बारा-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।
आजै प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनका लागि प्रस्ताव गर्दैछन्। उनको प्रस्तावमाथि प्रतिनिधि सभाको बैठकमा आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तय गरिसकेको छ।
दाहाललाई माओवादी, नेपाली कांग्रेस, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, नेसपा र रास्वपाले विश्वासको मत दिने तयारी गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको १० दलको बैठकले उनलाई विश्वासको मत दिने सहमति जुटाएको थियो। नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री दाहाललाई पार्टीले विश्वासको मत नदिने बताएका छन्।


