२०८३ कार्तिक २३ गते आईतबार

सम्पादकलाई चिठ्ठी

 |  शंकर लामिछाने
Sanket

शंकर लामिछाने

काठमाडौँ, चैत २१
shankar_lamichhane

(२०१९ सालमा समाज दैनिक पत्रिका सम्पादक थिए मणिराज उपाध्याय। उनले निबन्धकार शंकर लामिछानेसँग पत्रिकाको विशेषांकका लागि एक लेख मागे। लामिछानेले पत्रिकाकै आलोचना गरेर निबन्ध लेखिपठाए, जुन सम्पादक उपाध्यायले जस्ताको तस्तै छापे। जुन पछि लामिछानेको बहुचर्चित निबन्ध सङ्ग्रह ‘अबस्ट्राक्ट चिन्तन प्याज’मा छापियो २०२४ सालमा। आज पनि यो निबन्ध उत्तिकै स्मरणीय छ। यो निबन्ध लामिछानेको सोही निबन्ध सङ्ग्रहबाट साभार गरिएको हो।)

मणि दाजु,

तपाईंले भन्नुभएको छ ‘समाज’को विशेषांकको निमित्त म केही लेख दिऊँ- खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर। करिब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पल्टाइरहेँ र सोचिरहेँ क्यै त लेख्नैपर्‍यो। तपाईं एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नु कला कौशलको समीक्षा।

त, यो दुई घण्टा म सोचिरहेँ। र केही पनि सोच्न सकिनँ। कमसेकम छाप्नलायक त केही पनि सोच्न सकिनँ। तपाईं भन्नुहोला छाप्नलायक छुट्याउने अधिकार त सम्पादकमाथि पो छ। मेरो, यहाँनिर, छाप्नलायक भन्ने शब्द प्रयोगको अर्थ चाहिँ हो– त्यस्तो विषय, जो मानिसले पढ्न मन पराउँछ। अब तपाईंकै पत्रिका लिऊँ न। मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन्, जसले त्यसमा प्रमुखता पाएका छन्। किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ? (मन नपर्ने भए तपाईंको पत्रिका कहिले नै बन्द भैसक्थ्यो।)

म आजकल अनौठा पुस्तकहरू पढिरहेछु। स्टिफन ज्वाइनको ‘द वर्ल्ड अफ यस्टरडे’, अल्वेयर कामूको ‘मिथ अफ सिसिफस’, र चित्तरञ्जन नेपालीको ‘भीमसेन थापा र तत्कालीन नेपाल’। यसैबाट तपाईं बुझनुहुनेछ म अलि अध्ययन गर्न खोजिरहेछु मानिसको मृत्युपट्टिको भावना।

मृत्युको अध्ययन गर्नानिमित्त आरम्भ गर्ने बिन्दु हो जीवन। कारण मृत्युको जन्म जीवनको जन्म साथै भएको हुन्छ। त्यो क्षण जब म जन्मेँ, त्यही क्षण नै मेरो मृत्युको प्रथम क्षण, प्रथम पाइलो थियो, होइन त? त आज जीवनकै कुरा गरौं र मृत्युलाई चिन्ने प्रयास गरौं।

म अहिले पसलमा बसिरहेछु। पानी परिरहेछ झमझम। भर्खरै राजदूतहरू र मन्त्रीहरूको मोटरको ताँती फर्क्यो- नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा।

सडक पारिपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लँगौटीमा अलमलिएको जुम्रा मारिरहेछ। एउटा मानिस, म त्यसलाई चिन्दछु, तर नाम जान्दिनँ, जो दिनभरि त खसीबोका बेची हिँड्दछ, अहिले भजन अलाप्दै गणेशजीकहाँ गइरहेछ, हातमा उसको थाली छ, चन्दन अक्षता र फूल अबीरले भरेको। एउटा कुकुर आङ चिलाएकोले पेटीको भित्तामा आङ घस्रिरहेछ। एउटी कैली गाई गइन्, कसैले उनको निधारमा पूजा गरेको छ। केटीहरू छाता ओढेर किताब च्यापी गइरहेछन्। एउटा केटो बर्साती ओढी स्कुल जान बस पर्खिरहेछ। एउटा मानिस पियनबुकमा खातका खात चिठी च्यापेर दोबाटोमा कता नै जाऊँ- पहिलेको भावमा अल्मलिरहेछ।

र, मलाई एउटा लेख लेख्नु छ। यस्तो लेख, जसले नेपाली साहित्यको उत्थान गरोस्। यस्तो लेख, जसले मणि दाजुको ‘समाज’को स्तर नगिराओस्। यस्तो लेख, जुन पढ्दा नेपाली जनता रमाऊन्। तर मणि दाजु, म अल्मलिरहेछु। मेरो मन स्थिर छैन। सबै कुरा जो आँखाअगाडि घटिरहेछन्, तिनलाई म हेरिरहेछु र बुझ्न नसक्ने छु।

म बुझिदनँ- त्यो जुम्रा जन्म्यो नै किन, जब उसलाई लंगौटीकै कापमा दुईवटा औंलाका नङले पिसिएर मर्नु थियो? त्यो मानिस किन गणेशको पूजा पनि गर्दछ र खसीबोकाको ज्यान पनि लिन्छ? त्यो कुकुर लूतो भएर मर्ने नै तर्जुमामा छ भने किन भुकी टोपल्छ? मानिस गाईलाई पूजा गर्छ भने उसको बाछीको भाग खोसेर किन दूध खान्छ फेरि? त्यो तरुनी केटी, जो अग्रवालको ‘थ्योरी अफ इकोनोमिक्स’ बोकेर कलेज जाँदैछे, किन त्यो पढ्छे, जब उसलाई विधवा हुनुपर्ने छ, सायद पोइल जानुपर्ने छ, सायद वेश्यावृत्ति अपनाउनुपर्ने छ– सायद। त्यो बच्चा केको आशामा अरूले छापेका विश्वासहरू बोकेर स्कुल जाँदै छ, जब एकदिन उसलाई रानीपोखरीमा डुब्नु नै छ, व्यर्थ बनी, बेकार बनी दुई–तीन छोरा छोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयन अरू केटाहरूको प्रतिस्पर्धी बनेर? त्यो पियन किन ओसारिरहेछ खामबन्दी चिठ्ठीहरू, जब उसलाई थाहा छैन, पत्रमा के छन् रु कसैको खोसुवापुर्जी, कसैको विवाहको निमन्त्रणा, कसैको मृत्युको समाचार?

बुझ्नु भो मणि दाजु! यी जम्मै चरित्र तपाईंका पत्रिकामा स्थान पाउन सक्ने पात्रका हुन्। ती आज भाद्र ३, २०१९ साल बिहान १० बजे मेरा निमित्त बनेका हेडलाइनहरू हुन्। यिनको महत्व, तर, तपाईंलाई छैन, कारण ती अझै जीवनमा छन्, अहिले केही गरी ती भाक्लाक भुक्लुक्क सडकमा मरून्, या रानीपोखरीमा हाम्फालून्, या मोटरले किल्चिऊन्, तपाईं भातको गाँस छाडेर प्रेसतिर भाग्नुहुनेछ। तपाईंको कलम कागजमा दौडिनेछ, तपाईंको कम्पोजिटरले औलामा चाल्नेछ, तपाईंको ट्रेडलले काम पाउनेछ, पत्रिका छापिनेछ, र बिक्नेछ पाँच पैसामा।

ढ्याक्क

ढ्याक्क

ढ्याक्क

ढ्याक्क

प्रत्येकपल्ट एक इम्प्रेशन र छः मृत्यु। यो यत्तिका जनाको जुम्रा, पुजारी, कुकुर, केटी, केटा र पियन ६ जनाको जीवनको मूल्य सिर्फ पाँच पैसामा बिक्नेछ? यिनको मृत्युको समाचार बोकेर अखबारका पानाहरू छापिनेछन्, सड्नेछन्, बिलाउनेछन्, खतम हुनेछन्।

मणि दाजु! के कहिले यस्तो हुन सक्दैन, तपाईं अखबारमा जन्मको मात्र खबर छाप्नुहोस्? के यस्तो हुन सक्दैन, तपाईं भीमसेन थापाको आत्महत्याको कारण छाप्न सक्नुहोस्? के यस्तो हुँदैन, साँढे र वर्षाको सम्पादकीय त्यागेर तपाईं आफ्नो सच्चा कथन भन्न सक्नुहोस्? के यस्तो हुन सक्दैन, कहिले आफैंलाई चिरेर आफ्नु महत्व छाप्नुहोस्?

तपाईं आज सोच्नुहुँदो हो- पत्रिका चलाएर तपाईं देश र जनताको सेवा गर्दै हुनुहुन्छ। तपाईं भन्ठान्नु हुँदो हो, नेपाली इतिहासमा तपाईंको स्थान छ, सदा रहिरहनेछ, तपाईंको देन पत्रकारिता जगतले कहिले पनि भूल्न सक्नैछैन होला। मूर्ख दाजु बेकार हो! तपाईंको नाम अखबारले त्यहाँ छापेको छ, सधैं जहाँ समाचारलाई एक कालो धर्काले तपाईंबाट सीमारेखा छुट्ट्याएको हुन्छ। थाहा छ तपाईंलाई, तपाईंको अखबारले रोजै कति कसिंगर र गुहु झ्यालबाट चोकमा मिल्काउँछ? थाहा छ तपाईंलाई? थाहा छ तपाईंलाईं? थाहा छ तपाईंलाई? तपाईंलाई केही थाहा छैन। तपाईंलाई किन साँढेमाथि सम्पादकीय लेखेँ भन्ने पनि थाहा छैन?

तपाईंलाई किन भीमसेन थापामाथि सम्पादकीय लेखिनँ भन्ने पनि थाहा छैन? तपाईंलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन? तपाईंलाई किन सम्पादकीय लेख्दिनँ भन्ने पनि थाहा छैन?

अझ, मणि दाजु, तपाईं किन सम्पादक हुनुभयो, त्यो पनि थाहा छैन तपाईंलाई। तपाईं सम्पादक नभए के हुनुहुन्थ्यो, त्यो पनि थाहा छैन तपाईंलाई।

तपाईंको पत्रिका त ऊ त्यो माग्नेको लँगौटी हो, जसका कापमा रोज ट्रेडलका औँलाले जुम्रा मारिरहेछन्।

म सायद त्यो लुत्याहा कुकुर हुँ, तपाईं सायद निधारमा टीका लाएको त्यो गाई हो। अथवा तपाईं कुकुर हो, म गाई हुँ अथवा म जुम्रा, तपाईं नङ्ग्रा अथवा तपाईं पुजारी, म बोका अथवा तपाईं पियन म चिट्ठी, अथवा तपाईं केटी म केटा। तपाईं जे पनि हो, म जे पनि हुँ।

तपाईं र म जन्मिनुअघि यसो सोचिहेर्नुस् त, कत्ति आशा, विश्वास र हिम्मत संसारमा जन्म्यो। खै त्यो आज, खै? तपाईं र म जन्मिनुअघि कति शहीद र कति गद्दार जन्मे, खै ती आज, खै? अमरसिंहबारेको सत्य के रु इतिहासको तथ्य खै? सत्य खै? सत्यको सत्य खै? आज तपाईं भन्न सक्नुहुन्छ, इतिहासमा कहाँनिर कल्पना शुरु भएको छ, कहाँ वास्तविकता हराएको छ? भन्न सक्नुहुन्छ, तपाईंको अखबारमा छापिएका आत्महत्याका खबरको वास्तविकता के थियो? किन रामेचा या कृष्णचा या कखचाले आफूलाई मार्नुअघि छोराछोरीलाई र स्वास्नीलाई माऱ्यो? भन्न सक्नुहुन्छ के त्यस्तो कारण थियो जसले ती मरे?

मणि दाजु, बेकार छ। हामी सदा नै आफूलाई छोप्न खोज्छौं। हामी अर्काको मृत्युको समाचारबाट आफ्नु मृत्युको समाचार छोप्न खोज्छौं। हामी अर्काको विश्वास पढेर आफ्नो विश्वास छोप्न खोज्छौं। हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौं। म जो ईश्वरको कल्पना गर्छु, त्यसको पूजा गर्छु, म आफ्नु औंलामा लागेको बोकाको रगतको रंगलाई अबीरले छोप्न खोज्छु। तपाईं जो साँढेमाथि सम्पादकीय लेख्नुहुन्छ, आफू गाई भएको छोप्न खोज्नुहुन्छ। मणिराज उपाध्यायलाई सम्पादक मणिराज उपाध्यायले छोपिरहेछ। शंकर लामिछानेलाई पतिपिता, व्यापारी शंकर लामिछानेले छोपिरहेछ। तपाईं आत्महत्या गर्दै हुनुहुन्छ, म आत्महत्या गर्दैछु। तपाईं र म नमरिकन के खबर लायकका हुँदैनौं? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्वहीन छ? हामी स्वयं त्यसबारे सोच्न, लेख्न पनि चाहन्नौं? यो सोचाइलाई छोप्नु नै हाम्रो जीवन हो त?

मणि दाजु, यस मनोस्थितिमा म कसरी लेख लेख्न सक्छु? कसरी म साहित्य सिर्जना गर्न सक्छु, कसरी म नेपाल आमाको सेवा गर्न सक्छु? कसरी म राष्ट्रियताको नारा लगाउन सक्छु– जब मेरो नारा, मेरो भविष्य, मेरो भाग्य, मेरो विश्वास, मेरो खोसुवा पूर्जी, मेरो प्रमोशन, मेरो निमन्त्रण, मेरो मृत्यु खामबन्दी छ? जब एउटा पियनले त्यसलाई ओसारिरहेछ, एउटा यस्तो पियन, जसलाई खामबन्दी चिठ्ठीको मजबुन थाहा छैन।

भो मणि दाजू, विशेषांक निकाल्ने आवश्यकता नै के छ ररु तपाईंले विशेषांक निकाल्ने अठोट नै गर्नुभएको छ भने म के भन्न सक्छु र यत्ति हो- यसपटक म लेख दिन असमर्थ छु। सायद अर्को पटक तपाईंको पत्रिकाको हेडलाइनमा आउनबाट उम्किएँ भने- सायद अर्को वर्ष।

कृपया पत्र पढेर तुरुन्तै च्यातिदिनुहोला।

तपाईंको भाइ

शंकर लामिछाने

प्रकाशित: २०८२ चैत २१ गते शनिवार १२:०३
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना