२०८३ कार्तिक २३ गते आईतबार

‘मैले नेतृत्व सम्हाल्दा अर्थतन्त्र चुनौतीपूर्ण थियो, अहिले लगानी र सम्मानको वातावरण बनेको छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २५
662205503_1965129121060565_280376495700644831_n

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीन वर्षअघिको आर्थिक निराशालाई चिर्दै निजी क्षेत्रको मनोबल उच्च बनाउन सफल भएको बताएका छन्।

पत्रकारहरूसँगको अन्तक्रियामा उनले उच्च ब्याजदर र तरलता अभावको जटिल परिस्थितिमा नेतृत्व सम्हालेको स्मरण गर्दै अहिले सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरी व्यवसायीको सुरक्षा र सम्मानको ग्यारेन्टी गरेको उल्लेख गरे।

नेमहासंघले निजी क्षेत्रलाई केवल दबाब समूहको रूपमा मात्र नभई राष्ट्रिय विकासको सहयात्रीका रूपमा स्थापित गरेको उनको भनाइ छ।ढकालले १० अर्बको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ को स्थापना, विधान संशोधनमार्फत समावेशी नेतृत्व र डेडिकेटेड फिडर विवाद समाधानमा महासंघले खेलेको भूमिकालाई आफ्नो कार्यकालको मुख्य कडीका रूपमा प्रस्तुत गरे।

यस्तैआफ्नो तीन वर्षे कार्यकालमा मुलुकको अर्थतन्त्रलाई संकटबाट जोगाउन र नीतिगत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न उल्लेख्य सफलता हासिल भएको दाबी उनले गरे। निजी क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गराउनदेखि लिएर ३० भन्दा बढी ऐन कानुनको सुधारका लागि मार्गप्रशस्त गर्नेसम्मका काम आफ्नो कार्यकालको उपलब्धि रहेको उनको भनाइ थियो।

पत्रकार तथा सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको मन्तव्य

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणालाई स्वीकार गरी यहाँ उपस्थित हुनुभएको सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै न्यानो स्वागत गर्न चाहन्छु।

पत्रकार मित्रहरूसँग प्रत्यक्ष भेटघाट र विचार आदान–प्रदान गर्ने हाम्रो परम्परा रहँदै आएको छ।

यो कार्यक्रम केवल धन्यवाद ज्ञापन मात्र नभई निजी क्षेत्र र सञ्चार क्षेत्र बिच राष्ट्रको आर्थिक विकासबारे साझा दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसर हो भन्ने विश्वास लिएको छु।

आदरणीय पत्रकार मित्रहरू,
मैले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा थियो। कोभिड–१९ महामारीको असर, अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले समग्र अर्थतन्त्रलाई कमजोर बनाएको थियो।

त्यस्तो जटिल अवस्थामा हाम्रो पहिलो प्राथमिकता निजी क्षेत्रको मनोबल जोगाउनु, आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउनु र लगानीमैत्री वातावरण निर्माण गर्नु थियो।

मैले पदभार ग्रहण गर्दै गर्दा ५ वटा मुख्य प्राथमिकता अघि सारेको थिए।

पहिलो तत्कालिन अवस्थामा रहेको आर्थिक संकट समाधानका लागि पहल गर्ने,
दोस्रो स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने,
तेस्रो राज्य र निजी क्षेत्र बीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने,
चौथो दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने
र पाँचौमा व्यवसायीहरूको मनोबल उच्च बनाउन व्यवसाय तथा व्यवसायीको सम्मान र सुरक्षाका विषय रहेका थिए।

तीन वर्षको अवधिमा मैले अघि सारेका सबै विषयमा उल्लेखनीय कामहरू गर्न हामी सफल भएका छौं।

सबैभन्दा पहिलो, नीतिगत सुधार र हस्तक्षेपमा महासंघले नयाँ उचाइ हासिल गरेको छ। परम्परागत रूपमा माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएका छौं।

राष्ट्रिय आर्थिक बहसको आयोजना गर्दै सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउने काम गरियो। यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भयो, जसले ३० भन्दा बढी कानुन सुधारका सिफारिस गर्दै लगानी वातावरण सुधारका लागि महत्वपूर्ण आधार तयार गरेको छ।

निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय तथा कलकारखानाहरुलाई समेत शान्ति क्षेत्रको रुपमा घोषणा गरिएको छ। हालै निर्वाचनपछि बनेको करिब दुईतिहाई बहुमतको सरकारको पहिलो क्याबिनेट बैठकले हाम्रो प्रस्ताव अनुसार निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत गरी निजी क्षेत्र, लगानी र व्यवसायको सुरक्षा र सम्मानको ग्यारेण्टी गरेको छ।

त्यसैगरी, महासंघकै पहलमा दुई पक्षीय लगानी सम्झौता (बीआईए) मस्यौदा तयार भई परराष्ट्र मन्त्रालयमार्फत नेपाली दुतावासहरुले विभिन्न मुलुकहरुसँग सम्झौताका लागि अघि बढाएको अवस्था छ।

यसले लगानीको वातावरण थप सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र सम्मृद्धिमा निजी क्षेत्रको भूमिकालाई थप विस्तार र व्यापक बनाउने हाम्रो विश्वास छ।

राज्य–निजी क्षेत्र सम्बन्धलाई सहकार्यमा रूपान्तरण गर्ने काम हाम्रो कार्यकालको दोस्रो महत्वपूर्ण उपलब्धि हो।

हामीले राज्य र निजी क्षेत्रबिच रहने टकरावको संस्कृतिबाट बाहिर निस्कँदै सहकार्य र साझेदारीमा आधारित सम्बन्ध निर्माण गरेका छौं। निजी क्षेत्रलाई अख्तियारको नियमनको दायरामा ल्याउने प्रस्तावलाई परिमार्जन गराउँदै लगानीमैत्री वातावरण जोगाउन सफल भएका छौं। यसले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ।

सरकार, नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीहरुबिचको लामो समयदेखिको डेडिकेटेड फिडर तथा ट्रङकलाइन महशुल विवादलाई मध्यस्थता गर्दै दिगो समाधानका लागि प्रयास गरिएको छ।

तेस्रो, आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धनमा ठोस पहल गरिएको छ।

देशभित्र सानो–सानो पुँजीलाई एकीकृत गर्दै १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको छ, जसले पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको छ।

साथै, अन्तर्राष्ट्रिय स्तरमा लगानी फोरम र द्विपक्षीय संवादमार्फत नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास पनि गरिएको छ।

यस बिच भारत, चीन, संयुक्त अरब इमिरेटस्, कतार, बेलायतलगायत थुप्रै मुलुकमा महासंघले द्विपक्षीय लगानी सम्मेलन तथा संवादका कार्यक्रमहरु आयोजना गरेर नेपालमा रहेका सम्भावनाका क्षेत्रहरु उजागर गर्ने र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पहल गर्ने काम गरेको छ।
चौथो, संस्थागत रूपान्तरण र सुशासनमा महत्वपूर्ण कदम चालिएको छ।

लामो समयदेखि विवाद र वहशको विषय बन्ने गरेको महासंघको विधान सर्वसम्मत रुपमा संशोधन गर्दै नेतृत्व चयन प्रक्रियालाई थप समावेशी, पारदर्शी, प्रतिस्पर्धी र उत्तरदायी बनाइएको छ। अध्यक्षको प्रत्यक्ष निर्वाचन सँगै महिला सहभागिता वृद्धि, जिल्ला–नगरको प्रतिनिधित्व सुदृढीकरण लगायतका सकारात्मक परिवर्तनहरू गरिएका छन्।

त्यसैगरी, निजी क्षेत्रलाई विकास साझेदारको रूपमा स्थापित गर्ने आधार तयार गरिएको छ।

निजी क्षेत्रलाई केवल दबाब समूह होइन, राष्ट्रको आर्थिक विकासको सहयात्रीका रूपमा स्थापित गर्न हामी सफल भएका छौं।

पहिलो पटक मुलुकमा निजी क्षेत्रको योगदान बारेमा अनुसन्धान गरी “निजी क्षेत्रको अवस्था”बारे रिपोर्ट प्रकाशित गरेका छौँ। यसले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बारे तथ्यगत विवरण प्रस्तुत गरेको छ। जसले हामीलाई सरकार तथा अन्य निकायसँग तर्क, बहश र पैरवी गर्न थप सबल बनाएको छ।

आदरणीय पत्रकार मित्रहरू,
यी सबै प्रयासहरूलाई आम जनमानससम्म पुर्‍याउने, नीतिगत बहसलाई सशक्त बनाउने र सरकार, निजी क्षेत्र तथा नागरिकबीच सेतुको भूमिका निर्वाह गर्ने कार्यमा यहाँहरूको योगदान अतुलनीय छ।

विशेषगरी आर्थिक पत्रकारहरूले तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र दूरदर्शी सुझावमार्फत नीतिगत सुधारलाई मार्गदर्शन गर्नुभएको छ। यहाँहरूको लेखनीले हामीलाई अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी बन्न प्रेरित गरेको छ।

पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति हो। त्यसैले हामी तपाईंहरूको भूमिकालाई उच्च सम्मानका साथ लिन्छौं।

हामी चाहन्छौं कि महासंघ र सञ्चार क्षेत्रबीचको यो सहकार्य अझ सुदृढ हुँदै जाओस्। नियमित संवाद, सहकार्य र पारदर्शितामार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउने हाम्रो साझा लक्ष्य हो।

अन्त्यमा, मेरो यस तीनवर्षे कार्यकाल परिणाममुखी बनाउन यहाँहरुको तर्फबाट पाएको साथ, सहयोग र समर्थनकालागि यहाँहरु सबैजना प्रति म हृदयदेखि कृतज्ञ छु।

यी साथ र सहयोगका क्षणहरु मैले सधै सम्झिरहनेछु।

नेपाल उद्योग वाणिज्य महासंघ सधैं पत्रकार मित्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहनेछ। हाम्रा साझा प्रयासहरूले नेपाललाई समृद्ध बनाउनेछ भन्ने कुरामा मेरो दृढ विश्वास छ।
धन्यवाद।

प्रकाशित: २०८२ चैत २५ गते बुधबार ०६:२०
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना