काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भएको ‘भेप’ (इलेक्ट्रिक चुरोट) भित्रको सुन तस्करी र हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासहित २८ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार पूर्वसभामुख महरा र उनका छोरा राहुललाई मुख्य योजनाकार र मतियारको रूपमा उभ्याउँदै ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।
तस्करीमा सेटिङ
अख्तियारको अनुसन्धान आरोपपत्र अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिक ली हाङ सोङले ल्याएको ७३० थान भेपभित्र सुन लुकाइएको थियो। उक्त सुन छुटाउन पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्कर र भन्सारका उच्च अधिकारीहरूसँग अस्वाभाविक रूपमा पटक-पटक टेलिफोन सम्पर्क र भेटघाट गरेको पुष्टि भएको छ।
महरा बाबुछोराले भन्सार विभागका तत्कालीन महानिर्देशक अरुण पोखरेल लगायतका कर्मचारीहरूलाई प्रभावमा पारी गैरकानुनी रूपमा सुन ल्याउन र जफत भएको सुन साटफेर गर्न दबाब दिएको दाबी अख्तियारको छ। राहुल महरा हाल यही प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
विमानस्थल भन्सारमा जफत भएको उक्त भेपलाई भन्सार अधिकृतहरूले सुरक्षित राख्नुपर्नेमा आफ्नै कार्यकक्षमा राखेर सुन निकाल्ने र नक्कली भेप भर्ने काम गरेको पाइएको छ। गोदाममा रहेको सीसीटीभीले नदेख्ने ठाउँमा सामान सारेर सुन निकालिएको र उक्त सुन कोटेश्वरका सुन पसलहरूमा बिक्री गरिएको अनुसन्धानले देखाएको छ।
जफत गरिएको भेपभित्र रहेको ८,४८० ग्राम (करिब साढे ८ किलो) सुन हिनामिना गरी ७ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व चुहावट र भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ।
अख्तियारले सबै प्रतिवादीहरूबाट जनही ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो असुल गर्न, बिगो बमोजिम जरिवाना गर्न र भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय गर्न माग गरेको छ।
यी हुन् प्रतिवादीहरू
अरुण पोखरेल: तत्कालीन प्रमुख भन्सार प्रशासक, त्रिभुवन विमानस्थल भन्सार कार्यालय
मुक्ति प्रसाद श्रेष्ठ: प्रमुख भन्सार अधिकृत
अम्बिका प्रसाद खनाल: प्रमुख भन्सार अधिकृत
रमेश कुमार खतिवडा: भन्सार अधिकृत
सुबेन्द्र श्रेष्ठ: भन्सार अधिकृत
सुवर्णाप्रभा के.सी.: नायब सुब्बा
भुवनराज घिमिरे: नायब सुब्बा
उमेस प्रसाद कोईराला: नायब सुब्बा
रेवन्त खड्का: नायब सुब्बा
मधुसुदन पोख्रेल: नायब सुब्बा
कृष्ण बहादुर महरा: पूर्व सभामुख, प्रतिनिधि सभा
राहुल भन्ने रेशम महरा: (कृष्ण बहादुर महराका छोरा)
निर्मल कुमार विक: सुरक्षा गार्ड
लोकेन्द्र कुमार पौडेल
दिपेश बस्नेत
गोपाल सुवेदी
दिनेश बस्नेत: (व्यापारी)
वेद प्रकाश अग्रवाल: (व्यापारी)
राम केशव थापा क्षेत्री
अमृत कार्की
निमा गुरुङ
प्रेरणा थापा
ललिता थापा
दिपिका थापा
ली हाङ सोङ:चिनियाँ नागरिक
दाओजिन वाङ:चिनियाँ नागरिक
दावा छिरिङ:बेल्जियम नागरिक
साहेव राव पाण्डुरङ मरगले: भारतीय नागरिक
डेक्सटर ट्राभल्स एण्ड टुर्स प्रालि: (ट्राभल कम्पनी)


