काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ। बिहीबार आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।
यादवको २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मको आय–व्यय जाँच गर्दा वैधानिक आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ ९ पैसा रहेको देखिएको छ। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, शेयर, अध्ययन खर्चलगायत शीर्षकमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ ९९ पैसा खर्च भएको पाइएको छ।
यसरी कुल आयभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च भएको देखिएकाले सो रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकी अवैध देखिन आएको आरोप अख्तियारको छ। आयोगका अनुसार उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गरिएको हो।
उक्त अभियोगमा यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना तथा सम्पत्ति जफतको मागदाबी गरिएको छ। साथै सम्पत्ति लुकाइछिपाइ झुट्टा विवरण पेश गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ।
यादवकी श्रीमती निर्मला कुमारीलाई पनि प्रतिवादी बनाइएको छ। गैरकानुनी रूपमा आर्जित सम्पत्ति उनको नाममा समेत रहेको र प्रयोग भएको देखिएकाले जफत प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको हो।


