रौतहट। कुनै समय रौतहटको गरुडा बजारको रौनक नै बेग्लै थियो। श्रीराम सुगर मिल्सको चिम्नीबाट निस्कने धुवाँले यहाँका हजारौँ किसानको घरमा खुसीको रङ्ग भथ्र्यो।
तर, आज, त्यही मिलको गेटमा खिया लागेको छ, मेसिनहरू मौन छन् र हजारौँ ऊखु किसानका सपनाहरू ऊखुबारीमै ओइलाएका छन्।
पहिले पहिले मङ्सिर लाग्नासाथ गरुडा क्षेत्रमा ऊखु बोकेका ट्याक्टर र गोरु गाडाको ताँती लाग्थ्यो। ‘नगदे बाली’ भनिएको ऊखु आज किसानका लागि ‘निल्नु न ओकल्न’ भएको छ।
२०७७ साउन ११ गते मिल सञ्चालक समितिले घाटा देखाउँदै स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि यहाँका ऊखु खेती गर्ने किसानको उत्साह हराएको हो।
मिल चल्ने आस मरेपछि धेरैले ऊखु खेती छाडेर अन्नबाली लगाउन थालेका छन्। गरुडाको आर्थिक मेरुदण्ड मानिने यो मिल बन्द हुँदा स्थानीय व्यापार समेत सुकेको छ।
किसानहरूले आफ्नो पसिनाको मूल्य पाउन सडकमा धर्ना दिए, काठमाडौँ पुगेर सरकार गुहारे। हरेक पटक ‘मिल चल्छ भन्ने आश्वासन त पाइयो, तर मिलको गेट कहिल्यै खुलेन।
स्थानीय प्रशासनदेखि केन्द्र सरकारसम्म धाउदा पनि किसानको रोदन कसैले नसुनेको गरुडाका स्थानीय शिव पूजन साहले बताए।
एउटा किसानका लागि उखु खेती केवल व्यवसाय थिएन, छोरीको बिहे गर्ने खर्च, छोराको पढाइको आधार र बिरामी पर्दाको औषधिको स्रोत थियो। आज मिलको गेट अगाडि पुग्दा जो कोही किसानलाई, राज्य र उद्योगपतिप्रतिको ठुलो आक्रोश पनि छ।
२०४९ सालमा व्यवसायिक घरना गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो।
अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको मिलले दैनिक ठुलो परिमाणमा ऊखु प्रशोधन गर्दै रौतहट, बारा र सर्लाहीका किसानलाई भरपर्दो बजार उपलब्ध गराएको थियो।
गोल्छा परिवारको अंशवन्डा भएपछि रामलाल गोल्छाले स्थापना गरेको अर्गनाइजेनस छिन्नभिन्न भएको छ। सुगर मिल्सका अध्यक्ष दीवाकर गोल्छाको निधन भइसकेको छ।
मिल बन्द भएपछि करिब १८ हजार ऊखु किसान प्रभावित भएका छन्। झन्डै १५ हजार बिघा क्षेत्रफलमा हुने उखु खेती घट्दै गएको छ भने वार्षिक सवा दुई अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको अगुवा किसान ब्रिज किशोर यादवको भनाइ छ।
यद्यपि प्रारम्भिक वर्षहरूमा नाफामा सञ्चालन भएको उद्योग घाटामा गएपछि बन्द भएको हो । आर्थिक वर्ष २०७५/०७६ सम्म आइपुग्दा मिलको कुल घाटा दुई अर्ब १७ करोड रुपैयाँभन्दा बढी पुगेको थियो।
विशाल ग्रुुपले पनि चलाउन सकेन
गोल्छाले मात्र चलाउन नसकेपछि व्यवसायिक घरना विशाल ग्रुपको प्रवेश भएको थियो। विशाल ग्रुपको आगमनपछि उद्योगको विस्तार गर्न २०७४ सालमा वैशाख २८ गते साविकका सेयरधनीहरुलाई ३०० प्रतिशत अर्थात ८९ करोड रुपैयाँ बराबरको ८९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
बोर्डले स्वीकृति नदिएपछि हकप्रद सेयर निष्कासन गर्ने योजना सकियो र उद्योग सदाका लागि बन्द भएको हो। श्रीरामले सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो। उद्योगको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ।
मिलमा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत संस्थापक लगानीकर्ता गोल्छा परिवार र विशाल ग्रुपको सेयर छ। कूल ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर छ।
जसमध्ये सर्वसाधारणको २ लाख ७४ हजार १३९ कित्ता छ। व्यवस्थापनले २०७७ साउनको पहिलो साता सधैंका लागि बन्दको जानकारी श्रम तथा रोजगार कार्यालय, उद्योग विभाग, आन्तरिक राजस्व विभागका साथै नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई दिइएको थियो। उद्योग रौतहट गरुडा नगरपालिका ६ महम्मदपुरमा छ। उद्योगको नाममा ८० बिघा जग्गा छ।
४३ करोड ६० लाखमा उद्योगको मेशिन बिक्री
श्रीराम सुगर मिल्सको मेसिनरी उपकरण शिवशक्ति ग्रुपले किनेको छ।२०८० साउन १२ मा प्रतिस्पर्धाबाट शिवशक्ति ग्रुपले मिल्सको उपकरण खरिद गरेको हो। शिवशक्ति र त्रिवेणी ग्रुपको संयुक्त लगानीमा बारामा रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेड सञ्चालनमा छ।
शिवशक्तिका सञ्चालक राजकुमार अग्रवालले ४३ करोड ६० लाख रुपैयाँमा श्रीराम सुगरका सबै उपकरण सकारेका थिए। ऋण नतिरेपछि नेपाल बैंकले २०८० जेठ ३२ मा उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो।
श्रीराम सुगरमा नेपाल बैकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। ब्याजसमेत जोड्दा अहि २६ करोड रुपैयाँ पुगेको थियो।


