काठमाडौँ: सर्वोच्च अदालतले गोल्छा ग्रुपका अध्यक्ष तथा उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।
गोल्छाका तर्फबाट पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीसहित उपस्थित हुन तथा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न महान्यायाधिवक्ताको कार्यालयका नाममा आदेश जारी गरेको हो। बन्दी रिटमा गोल्छालाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको थियो।
पछिल्लो समय सोमबार जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि गोल्छालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उनलाई वैशाख १० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँबाट पक्राउ गरेको थियो। सुरुमा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएकोमा सोमबार म्याद थप गर्न उनलाई अदालत लगिएको थियो।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पक्राउ परेर अनुसन्धानका लागि हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टसँग उनको कनेक्सन देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।


