इलाम सदरमुकाममा आयोजना गरिएको पाँचौं संस्करणको इलाम साहित्य महोत्सव शनिबार विभिन्न कार्यक्रमसँगै सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको महोत्सवमा साहित्य, कला, शिक्षा, पर्यटनलगायत विविध विषयमा बहस, काव्य–गजल प्रस्तुति र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए।
महोत्सवकै अवसरमा सगरमाथा आरोही तथा कवि जुनिता सुब्बाले १ करोड २५ लाख रुपैयाँको ‘जुनिता ट्रस्ट’ स्थापना गर्ने घोषणा गरेकी छन्। अमेरिकामा रहेकी उनको कवितासंग्रह ‘प्रिय आत्मन’को विमोचन कार्यक्रममा भर्चुअल रूपमा सहभागी हुँदै उक्त जानकारी दिएकी हुन्।
पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम पनि ट्रस्टमै जम्मा हुनेछ। उक्त ट्रस्टमार्फत विशेष क्षमता भएका इलामका ७ विद्यार्थीलाई विभिन्न निजी विद्यालयमा अध्ययन गराइरहेको जानकारी दिँदै सुब्बाले सामाजिक क्षेत्रमा दीर्घकालीन योगदान गर्ने उद्देश्य रहेको बताइन्।
साथै, ट्रस्टले ‘हाङयुग जुनिता फाउन्डेसन’सँग सहकार्य गर्दै यस वर्षदेखि ‘हाङयुग जुनिता’ राष्ट्रिय पुरस्कार प्रदान गर्न सुरु गरेको छ। यसपटक कवि सुन्दर कुरूपलाई ५० हजार राशीको उक्त पुरस्कार प्रदान गरियो।
महोत्सवका क्रममा इलाम नगरपालिकाका मेयर केदार थापाले ‘हाङयुग जुनिता ध्यानालय तथा पुस्तकालय’को शिलान्यास समेत गरेका छन्। कार्यक्रममा गायक पुष्पन प्रधानलाई सम्मान गरिएको थियो भने विभिन्न स्रष्टालाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
दोस्रो दिन शनिबार ‘शिक्षा विधेयकको सकस’ विषयमा टंक गौतम, डा. योगेन्द्रमान श्रेष्ठ र पूर्ण गौतमबीच बहस भएको थियो। ‘सीमावर्ती साहित्य’ विषयमा विनिता क्षेत्री, कृष्ण बराल र डा. ज्ञानेन्द्र यक्सो सहभागी रहे। ‘हिमालवारि हिमालपारि’ शीर्षकमा पत्रकार सुधीर शर्माले आफ्नो धारणा राख्दा दीपक सापकोटाले सहजीकरण गरेका थिए।
त्यस्तै, ‘इलाम डेभलपमेन्टः ओरेन्ज एन्ड ग्रिन इकोनोमी’ विषयमा प्रतिनिधिसभा सदस्य निस्कल राईले प्रस्तुति दिएका थिए। ‘जराको कुरा’मा मोहन मैनाली, युद्धप्रसाद वैद्य र सुजित मैनालीबीच अन्तरसंवाद भएको थियो।
पहिलो दिन शुक्रबार ‘कविताः विरासतदेखि रिल्ससम्म’ विषयमा विनोदविक्रम केसी, रीमा केसी, समदर्शी काइँला र रमेशचन्द्र अधिकारीबीच बहस भएको थियो। ‘डिजिटल मासु भात र हामी पत्रकार’ शीर्षकमा बसन्त बस्नेतले मन्तव्य प्रस्तुत गरेका थिए। ‘पर्यटनको वैभवः समृद्धिको आधार’ विषयमा निरोज कट्टेल, सशीला सापकोटा, अमिर राई र गिरिराज बाँस्कोटाले छलफल गरेका थिए।
यसैगरी ‘आख्यान, उपआख्यान’ शीर्षकमा केशव दाहाल, उमा सुवेदी, अमर न्यौपाने, श्याम सिंघक र शैलेन्द्र अधिकारी सहभागी रहे। साँझतिर विभिन्न स्रष्टाहरूले गजल प्रस्तुति दिएका थिए।
महोत्सवमा ‘हाङयुग–जुनिता साहित्यिक पुरस्कार’सहित राधिका नेम्वाङ स्मृति पुरस्कार कविता नेपाललाई प्रदान गरिएको थियो भने दिनेश डिसीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङका अनुसार साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्दै समाजको बौद्धिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।


