काठमाडौं। निजी लगानीमा सञ्चालित सोपान फर्मास्युटिकल्स लिमिटेडले हालै सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ।
कम्पनीले वैशाख ३ देखि ८ गतेसम्म ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्कासन गरेको थियो। जसको बाँडफाँड वैशाख १७ गते सम्पन्न भइसकेको छ। अब उक्त सेयर लगानीकर्ताको खातामा जम्मा भई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि दोस्रो बजारमा कारोबार सुरु हुने तयारीमा छ।
सूचीकरणपछि सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी बन्नेछ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले दुई वर्षअघि नै आईपीओ जारी गरिसकेको छ।नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो।
कम्पनीले आफ्नो जारी पुँजीको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको आईपीओ जारी गरेको हो। कम्पनीले अंकित मूल्यमा ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गरिएको थियो।
यसमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि र चार प्रतिशत कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ८१ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको थियो। आईपीओपछि कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ।
वित्तीय हिसाबले हेर्दा कम्पनीले प्रारम्भिक घाटाबाट नाफातर्फ उन्मुख यात्रा तय गरेको देखिन्छ। आर्थिक वर्ष २०७९/०८० सम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४२.१४ रुपैयाँ ऋणात्मक रहेकोमा आर्थिक वर्ष २०८१/०८२ को अपरिष्कृत विवरण अनुसार १८.३३ रुपैयाँ सकारात्मक भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रतिसेयर आम्दानी ९.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०२.६१ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। यद्यपि सञ्चित नाफा अझै ऋणात्मक रहेकाले नेटवर्थ आधारभूत मूल्यभन्दा थोरै मात्र माथि रहेको छ।
कम्पनीको क्रेडिट रेटिङ पक्ष भने लगानीकर्ताका लागि संवेदनशील देखिएको छ। केयर रेटिङ्स नेपालले कम्पनीलाई “केयर (एनपी बी (आईएस))” रेटिङ दिएको छ। जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। उच्च ऋण भार र कम्पनीको प्रारम्भिक सञ्चालन अवस्था यसको प्रमुख कारण मानिएको छ।
आईपीओमार्फत संकलित ४२ करोड ९० लाख रुपैयाँलाई कम्पनीले विभिन्न क्षेत्रमा प्रयोग गर्ने योजना बनाएको छ। करिब २० करोड रुपैयाँ बैंक ऋण भुक्तानीमा खर्च गरिनेछ। त्यस्तै ७ करोड ५० लाख रुपैयाँ सहायक कम्पनी सोपान अक्सिजन लिमिटेडमा लगानी गर्ने आईपीओ निष्कासन प्रयोजनका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
छ करोड ६५ लाख रुपैयाँ मेसिनरी खरिद र पूर्वाधार निर्माणमा खर्च हुनेछ। बाँकी रकम नयाँ औषधि उत्पादन विकास, बजार विस्तार तथा कार्यशील पुँजीका रूपमा प्रयोग गरिनेछ।
कम्पनीले प्रभु बैंक लिमिटेडबाट ६२ करोड ९९ लाख रुपैयाँ बराबरको कर्जा सीमा स्वीकृत गराएको छ। जसमध्ये अधिकांश रकम प्रयोग भइसकेको छ। यसमा दीर्घकालीन र अल्पकालीन दुवै प्रकारका कर्जा समावेश छन्। उक्त कर्जाका लागि कम्पनीका सञ्चालकहरूले व्यक्तिगत जमानी दिएका छन्।
लगानी प्रतिफलको हिसाबले कम्पनीले परियोजनाको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.३५ वर्ष हुने प्रक्षेपण गरेको छ। आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत अनुमान गरिएको छ, जुन औसत रूपमा आकर्षक मान्न सकिन्छ।
सोपान फर्मास्युटिकल्सले हाल ११६ प्रकारका औषधि उत्पादनको अनुमति पाएको छ भने ८० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको छ। उत्पादन क्षमता विस्तार र बजार विस्तारको योजनासहित कम्पनीले दीर्घकालीन वृद्धि लक्ष्य राखेको देखिन्छ।
कम्पनीको अध्यक्षमा डा. अनिल पोखरेल रहेका छन् भने सञ्चालक समितिमा भीमलाल पौड्याल, कृतिकुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन न्यौपाने हुन्। कम्पनीमा सोपान मल्टिपल कम्पनी लिमिटेडको ४९ प्रतिशत स्वामित्व रहेको छ।
समग्रमा हेर्दा सोपान फर्मास्युटिकल्सले छोटो समयमा उल्लेखनीय प्रगति गरेको भए पनि यसको उच्च ऋण भार, क्रेडिट रेटिङ र प्रारम्भिक अवस्था जस्ता पक्षहरूले लगानीकर्तालाई सावधानी अपनाउन संकेत गर्छन्। अवसर र जोखिम दुवै पक्ष समेटिएको यस कम्पनीको आगामी प्रदर्शन नै यसको वास्तविक मूल्यांकनको आधार बन्नेछ।
तीन वर्षमा साढे २२ करोड खुदनाफा गर्ने
सोपानले चालू आर्थिक वर्षमा १४ करोड ५७ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा नौ करोड रुपैयाँ खुदनाफा गरेको छ।
उद्योगले ६१ करोड ५२ लाख रुपैयाँ बराबरको औषधी बिक्री गरेर उक्त रकम नाफा हुने अनुमान गरेको हो। यस्तै आगामी आर्थिक वर्ष ०८२/०८३ मा १९ करोड रुपैयाँ खुदनाफा गर्ने अनुमान उद्योगले गरेको छ।
आगामी आर्थिक वर्षमा औषधीको व्यापार बढेर वार्षिक ७४ करोड २७ लाख रुपैयाँ पुर्याउने लक्ष्य सोपानको छ। यस्तै आर्थिक वर्ष ०८३/०८४ मा खुदनाफा बढेर २२ करोड ३० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। उक्त आर्थिक वर्षमा उद्योगले ८९ करोड १३ लाख रुपैयाँबराबरको औषधी व्यापार गर्ने लक्ष्य राखेको छ।
हाल उद्योग क्षमताको ३० प्रतिशत मात्र सञ्चालनमा रहेको छ। आगामी दुई वर्षमा क्षमता उपयोग बढाएर ५० प्रतिशत पुर्याउने लक्ष्य उद्योगको छ। उत्पादन शुरु भई बजारिकरणको चौथो वर्षमा प्रवेश गर्दासम्म कम्पनीले ११६ वटा औषधि उत्पादन गर्न तथा ७८ वटा औषधिहरु बिक्री वितरण गर्न स्वीकृति प्राप्त गरेको छ।
बजारीकरणकालागि देशका मुख्य मुख्य व्यापारिक शहरहरुमार्फत नेपालभरी नै यसको बिक्री सञ्जालको व्यवस्था गरिएको छ।
नेपालमा वार्षिक ७१ अर्ब चार करोड रुपैयाँबराबरको औषधीको कारोबार हुने गरेको छ। जसमध्ये आधा अर्थात ३५ अर्ब रुपैयाँको विदेशबाट आयात हुने गरेको छ।
केबल ३५ अर्ब रुपैयाँ बजार हिस्सा नेपाली उद्योगको छ। सोपानको बजार हिस्सा १.४ प्रतिशत छ। आगामी चार वर्षमा बजार हिस्सा बढाएर चार प्रतिशत पुर्याउने लक्ष्य सोपानको छ।
निकट भविष्यमा नेपाल बाहिर श्रीलंका, कम्बोडिया, मध्यपूर्वीय देश यमन, जोर्डन, ओमान, साउदी अरेिबया, कतार, तथा केन्या, नाइजेरीया, युगाण्डा लगायतका अन्य अफ्रिकन मुलुकहरुमासमेत उत्पादित औषधी निर्यात गर्ने योजना रहेको सोपानले जनाएको छ।


