काठमाडौं। पछिल्लो समय उत्पादनमूलक उद्योगहरुले धमाधम सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) ल्याउने क्रम बढेको छ। यस्तै एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासनको तयारी अघि बढाएको छ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको छ। बाँडफाँडपछि सर्वसाधारणतर्फको आईपीओ निष्कासन प्रक्रिया अघि बढाइने एभरेष्टले जनाएको छ। यद्यपि, सर्वसाधारणका लागि आईपीओ निष्कासन मिति भने हालसम्म तय भएको छैन।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले सात करोड ९० लाख रुपैयाँ बराबरको सात लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति प्राप्त गरिसकेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।
कम्पनीले १४ वर्षदेखि नेपाली बजारमा विभिन्न प्रकारका रङ उत्पादन गर्दै आएको छ। पछिल्ला केही वर्षमा वित्तीय चुनौती सामना गरे पनि कम्पनीले आगामी वर्षदेखि नाफामुखी यात्रामा फर्किने प्रक्षेपण सार्वजनिक गरेको छ।
विवरणपत्रअनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म कम्पनी दुई करोड नौ लाख रुपैयाँ संचित नोक्सानीमा रहेको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा भने २३ हजार २१७ रुपैयाँ नाफा आर्जन गरेको छ। त्यपछि चालू आर्थिक वर्षमा कम्पनीले एक करोड ४४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण सार्वजनिक गरेको छ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८३/०८४ मा कम्पनीले चार करोड रुपैया संचित नाफा कमाउने प्रक्षेपण गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८४/०८५ सम्म संचित नाफा ७ करोड ४४ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ।
हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.९७ रुपैयाँ रहेको छ। आगामी वर्षहरूमा यो क्रमशः बढ्ने अनुमान गरिएको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि प्रतिसेयर आम्दानी (ईपीएस) ९.६० रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।
आईपीओबाट संकलन हुने सात करोड ९० लाख रुपैयाँ कम्पनीले विस्तार योजनामा खर्च गर्ने जनाएको छ। कम्पनीका अनुसार नयाँ जग्गा तथा भवन खरिदमा ३ करोड १५ लाख रुपैयाँ, मेसिनरी विस्तारमा ६० लाख रुपैयाँ तथा ढुवानीका साधन खरिदमा १ करोड ५७ लाख रुपैयाँ खर्च गरिनेछ। बाँकी रकम कच्चा पदार्थ खरिद र बजार विस्तारमा प्रयोग गरिने योजना रहेको छ।
कम्पनीले आफ्नो वित्तीय प्रक्षेपणका आधारमा लगानी गरेको रकम पाँच वर्षभित्र फिर्ता हुने अनुमान गरेको छ। कम्पनीका अनुसार प्रोजेक्ट इन्टरनल रेट अफ रिटर्न (आईआरआर) ३४.८७ प्रतिशत रहेको छ भने १० प्रतिशत डिस्काउन्ट रेटमा आधारित नेट प्रिजेन्ट भ्यालु २८ करोड ११ लाख ७९ हजार ४४३ रुपैयाँ पुगेको छ।
एभरेष्ट कलरले आर्थिक वर्ष २०८२/०८३ मा एक करोड ७६ लाख २२ हजार रुपैयाँभन्दा बढी खुद नाफा गर्ने प्रक्षेपण गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ मा दुई करोड ५७ लाख ८८ हजार रुपैयाँ र आर्थिक वर्ष २०८४/०८५ मा तीन करोड ४७ लाख ८२ हजार रुपैयाँ खुदनाफा हुने अनुमान सार्वजनिक गरेको छ।
कम्पनीले उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग, नयाँ प्रकारका रङ उत्पादन तथा देशभर बिक्री सञ्जाल विस्तारमार्फत नाफा वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।
कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ नेपालले “केयर–एनपी बीबी (आईएस)” प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्छ। हाल कम्पनीले नेपालको रङ बजारमा करिब एक देखि १.५ प्रतिशत हिस्सा ओगटेको जनाएको छ।
कम्पनीले आगामी पाँच वर्षभित्र उद्योगको क्षमता विस्तार गर्ने, नयाँ प्रविधि भित्र्याउने तथा नेपाली रङ उद्योगमा अग्रणी स्थान हासिल गर्ने लक्ष्य राखेको छ। हाल कम्पनीले ६० भन्दा बढी प्रकारका रङ तथा पेन्ट उत्पादन गर्दै आएको छ।
कम्पनीमा अनुभवी उद्यमी तथा लगानीकर्ताको संलग्नता रहेको छ। प्रमुख सेयरधनीहरूमा रामप्रसाद सापकोटा, रोजिना श्रेष्ठ, सरोज लुइटेल, राजन श्रेष्ठ, सोहन चौधरी र महेश्वर खनाल रहेका छन्। कम्पनीका प्रबन्ध निर्देशक सरोज लुइटेलसँग रङ उद्योगमा करिब २४ वर्षको अनुभव रहेको छ भने अध्यक्ष महेश्वर खनालसँग व्यापार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको बताइएको छ।
कम्पनीको वित्तीय विवरणले एभरेष्ट कलर बिस्तारै संचित नोक्सानी घटाउँदै नाफातर्फ अग्रसर भएको संकेत गरेको छ। आईपीओबाट उठ्ने रकम उत्पादन क्षमता विस्तार र बजार विस्तारमा प्रयोग हुने भएकाले दीर्घकालीन रूपमा कम्पनीको वृद्धि सम्भावना देखिएको छ। यद्यपि, लगानीकर्ताले कम्पनीको क्रेडिट रेटिङ, संचित नोक्सानी तथा बजार प्रतिस्पर्धालाई ध्यानमा राखेर लगानी निर्णय लिनुपर्ने देखिन्छ।


