काठमाडौं। रौतहटको गरुडा बजारमा बन्द अवस्थामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि आवाज उठेको छ। नेपाली कांग्रेसका सांसद डा. फिर्दौस आलमले चिनी मिल सञ्चालनमा नहुँदा किसान गम्भीर समस्यामा रहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबार बैठक विशेष समयमा बोल्दै उनले ऊखु बिक्री नहुँदा बारीमै रहेको जानकारी दिँदै उद्योग सञ्चालनमा ल्याउन माग गरेका छन्।उद्योग सञ्चालनका लागि पटक पटक कुरा उठ्ने गरेको छ। मिलको गेटमा खिया लागेको छ भने हजारौँ ऊखु किसानका सपनाहरू ऊखुबारीमै ओइलाएका छन्।
२०७७ साउन ११ गते मिल सञ्चालक समितिले घाटा देखाउँदै स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि यहाँका ऊखु खेती गर्ने किसानको उत्साह हराएको हो।
मिल बन्द भएपछि करिब १८ हजार ऊखु किसान प्रभावित भएका छन्। झन्डै १५ हजार बिघा क्षेत्रफलमा हुने उखु खेती घट्दै गएको छ भने वार्षिक सवा दुई अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको छ।
२०४९ सालमा व्यवसायिक घरना गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित थियो।
श्रीराम सुगर मिल्सको गुलियो चिनीसँगै हराएको रौतहटका ऊखु किसानको खुशी
अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको मिलले दैनिक ठुलो परिमाणमा ऊखु प्रशोधन गर्दै रौतहट, बारा र सर्लाहीका किसानलाई भरपर्दो बजार उपलब्ध गराएको थियो।
आर्थिक वर्ष २०७५/०७६ सम्म आइपुग्दा मिलको कुल घाटा दुई अर्ब १७ करोड रुपैयाँभन्दा बढी पुगेको थियो।
गोल्छाले मात्र चलाउन नसकेपछि व्यवसायिक घरना विशाल ग्रुपको प्रवेश भएको थियो। विशाल ग्रुपको आगमनपछि उद्योगको विस्तार गर्न २०७४ सालमा वैशाख २८ गते साविकका सेयरधनीहरुलाई ३०० प्रतिशत अर्थात ८९ करोड रुपैयाँ बराबरको ८९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
बोर्डले स्वीकृति नदिएपछि हकप्रद सेयर निष्कासन गर्ने योजना सकियो र उद्योग सदाका लागि बन्द भएको हो। श्रीरामले सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो। उद्योगको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ।
मिलमा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत संस्थापक लगानीकर्ता गोल्छा परिवार र विशाल ग्रुपको सेयर छ। कूल ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर छ।
जसमध्ये सर्वसाधारणको २ लाख ७४ हजार १३९ कित्ता छ। व्यवस्थापनले २०७७ साउनको पहिलो साता सधैंका लागि बन्दको जानकारी श्रम तथा रोजगार कार्यालय, उद्योग विभाग, आन्तरिक राजस्व विभागका साथै नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई दिइएको थियो। उद्योगको नाममा ८० बिघा जग्गा छ।
श्रीराम सुगर मिल्सको मेसिनरी उपकरण शिवशक्ति ग्रुपले किनेको छ। २०८० साउन १२ मा प्रतिस्पर्धाबाट शिवशक्ति ग्रुपले मिल्सको उपकरण खरिद गरेको हो। शिवशक्ति र त्रिवेणी ग्रुपको संयुक्त लगानीमा बारामा रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेड सञ्चालनमा छ।
शिवशक्तिका सञ्चालक राजकुमार अग्रवालले ४३ करोड ६० लाख रुपैयाँमा श्रीराम सुगरका सबै उपकरण सकारेका थिए। ऋण नतिरेपछि नेपाल बैंकले २०८० जेठ ३२ मा उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो।
श्रीराम सुगरमा नेपाल बैकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। ब्याजसमेत जोड्दा २६ करोड रुपैयाँ पुगेको थियो।


