काठमाडौँ: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको निलम्बन अन्ततः फिर्ता लिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलपछि भएको उच्चस्तरीय छलफलले विवाद समाधानतर्फ बाटो खोलेसँगै निलम्बन निःशर्त फुकुवा गरिएको हो।
शुक्रबार खेलकुद मन्त्री सस्मित पोखरेलसँग एन्फा पदाधिकारीबीच भएको छलफलपछि राखेपले आफ्नो अघिल्लो निर्णय पुनरावलोकन गर्दै निलम्बन हटाउने निर्णय गरेको हो। एन्फा पक्षले सरकारसँगको समन्वयपछि स्थिति सहज बनेको प्रतिक्रिया दिएको छ।
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार संस्थालाई स्वतन्त्र रूपमा नियमित कामकाज गर्न दिने समझदारीसहित निलम्बन हटाइएको हो। यससँगै केही दिनदेखि रोकिएको एन्फाको प्रशासनिक तथा फुटबल सम्बन्धी गतिविधि पुनः सुचारु हुने भएको छ।
राखेपले चैत ११ गते एन्फाको कार्यसमितिलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। निर्वाचन प्रक्रिया र प्रशासनिक निर्णयलाई लिएर दुई पक्षबीच बढ्दो तनावका बीच उक्त कदम चालिएको थियो।
एन्फाले ‘अर्ली इलेक्सन’ अघि बढाउने तयारी गरेपछि राखेपले जिल्ला र प्रदेश तहका निर्वाचन पूरा नगरी केन्द्रीय निर्वाचन गर्न नहुने भन्दै प्रक्रिया रोक्न निर्देशन दिएको थियो। तर एन्फाले उक्त निर्देशन अटेर गर्दै साधारणसभा तथा निर्वाचन प्रक्रिया अगाडि बढाएपछि विवाद चर्किएको थियो।


