काठमाडौँ: नेपाल वायुसेवा निगमले विमान खरिद गर्दा लिएको कर्जा र ब्याज दायित्व बढ्दै गएको छ। वायुसेवा निगमले ए ३२० तथा ए ३३० जहाज खरिदका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट कूल ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो।
जसअनुसार २०७० असार ४ र २०७४ जेठ २८ मा सञ्चय कोषबाट २२ अर्ब तथा नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ कर्जा लिएको थियो।
तालिकबमोजिम साँवा र ब्याज भुक्तानी नगरेका कारण कुल तिर्न बाँकी साँवा तथा ब्याज गरी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ६१ हजार र लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाखसमेत ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
तालिकाबमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने परीक्षकको कार्यालयले औल्याएको छ।
सबैभन्दा बढी घाटामा वायुसेवा निगम
गत आर्थिक वर्ष २०८०/०८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्नेमा नेपाल वायुसेवा निगम रहेको सरकारी तथ्यांकले देखाएको छ। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार निगम ०८०/०८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ।
यस्तै, निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा–ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयनजस्ता कारणले निरन्तर घाटा बढ्दै गएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक समीक्षामा उल्लेख छ।
गत वर्ष निगमको नोक्सान एक अर्ब चार करोड रुपैयाँ थपिएको अर्थले जनाएको छ। यसबीचमा निगमको खुद सम्पत्ति पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ। निगमसँग भएका चार जहाज पनि प्रभावकारी रूपमा चल्न सकेका छैनन्। जहाज उडाएर निगमले खर्च धान्न सक्ने अवस्था अहिले छैन।


