काठमाडौँ: राजधानीको बौद्धमा रहेको पाँचतारे हायात रिजेन्सी होटलको मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ। गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा दोस्रो दिन होटल तोडफोड, आगजनी र क्यासिनोमा लुटपाट भएको थियो।
स्तरोन्नति र क्षमता विस्तारका लागि भदौ अन्तिमदेखि होटल बन्द छ। उक्त घटनाका क्रममा होटलमा भएको क्षतिको बीमा कम्पनीले मूल्यांकन गरिरहेकाले हायात रिजेन्सीले जनाएको छ।
मर्मत र स्तरोन्नतिमा हायात रिजेन्सीले थप तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। यसमध्ये दुई अर्ब रुपैयाँ बैंकको ऋण र बाँकी एक अर्ब रुपैयाँ आफ्ने निक्षेपमा भएको रकम परिचालन गर्ने भएको छ।
तारागाउँ रिजेन्सी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत रहेको छ। होटलको व्यवस्थापन हायात रिजेन्सीले गर्दै आएको छ।
हाल होटलमा २८० कोठाहरु रहेका छन्। मर्मत र स्तरोन्नतिपछि ११ वटा कोठा थपिने भएको छ। होटलको कोठा संख्या बढेर २९१ पुग्ने भएको छ। मर्मत र क्षमता विस्तारको काम सकिएपछि होटल आगामी सन् २०२७ को जनवरीदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको हायात रिजेन्सीले जनाएको छ।
स्तरोन्नति गरिएको परियोजनाको एक भागको रूपमा १३ भिल्लाहरूको योजना बनाइएको छ। भिल्ला सञ्चालन जनवरी २०२८ देखि सुरु हुने अनुमान गरिएको छ।
कम्पनीले प्रिमियम होटल व्यवस्थापनमा प्रमाणित ट्र्याक रेकर्ड राखेको भए पनि यसको वित्तीय प्रोफाइल र तरलता स्थितिमा पर्ने प्रतिकूल प्रभावलाई कम गर्न बजेट र तालिकाभित्र सञ्चालन महत्वपूर्ण रहन्छ।
ठूलो क्षति भएको र होटलको पूर्ण रूपले मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउने अवस्था नरहेकाले कम्पनीले होटलको पुर्ण मर्मत सम्भार गरी चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
बन्दपछि होटल साढे १४ करोड घाटामा
होटलले यो वर्ष होटल १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ नोक्सानमा रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। यो वर्ष १७ करोड २० लाख रुपैयाँ व्यापार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
होटलको प्रतिसेयर आम्दानी ७.३८ रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष १७.२० रुपैयाँले धनात्मक थियो। प्रतिसेयर नेटवर्थ १४७.३० पैसामा झरेको छ। नेटवर्थ गत वर्ष १५२.५९ रुपैयाँ थियो।
होटलले पछिल्ला वर्षमा लगानीकर्तालाई राम्रो लाभांश दिँद आएको थियो।हायात रिजेन्सीले गत आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट सेयरधनीलाई कर सहित ५ प्रतिशत नगद लाभांश दिएको थियो। आर्थिक वर्ष २०८०/०८१मा ११ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०७९/०८० मा पनि ११ प्रतिशत नगद र ४ प्रतिशत बोनश सेयर लाभांस दिएको थियो।
होटलको चुक्ता पुँजी एक अर्ब ९२ करोड २१ लाख रुपैयाँ छ। सञ्चित कोषमा ९२ करोड ७९ लाख रुपैयाँ छ।
गत आर्थिक वर्ष २०८१/०८२ को तृत्तीय त्रैमासिक समिक्षा अवधिमा कर अधिको खुद नाफा ४२.८६ करोड रहेकोमा चालू आर्थिक वर्षको तृतिय त्रैमासिक समिक्षा अवधिमा कर अघिको खुद नोक्सानी १४.४८ करोड रहेको छ।
होटलले २०२५ मा एक अर्ब ५२ करोड, २०२४ मा एक अर्ब ४९ करोड ५० लाख, २०२३ मा एक अर्ब ३४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
तारागाउँ रिजेन्सी होटलको स्थापना सन् १९९० मा भएको हो। होटलमा सरार्फ र श्रेष्ठ परिवारको लगानी रहेको छ। होटल ‘हायात रिजेन्सी’ ब्राण्डमा सञ्चालनमा थियो।
