काठमाडौँ- सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर कारोबारीलाई आफ्नो खातामा भएको रकमभन्दा बढी रकमको आवेदन दिएमा कारवाही गर्ने चेतावनी दिएको छ। सीडीएससीले सूचना जारी गर्दै सार्वजनिक निष्कासनमा आफ्नो खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन नदिन भनेको छ।
गत जेठ ३२ गते घोराही सिमेन्टले प्रिमियममा जारी भएको आइपीओमा ८५ लाख कित्ता आवेदन रद्द भएपछि सीडीएसीले चेतावनीपूर्ण सूचना जारी गरेको हो। खातामा पर्याप्त पैसा नभई १० कित्ताको एक हजार लाग्ने ठानेर आवेदन दिनेका कारण भएको शंका गर्दै सीडीएससी सूचना जारी गरेको हो। प्रतिकित्ता ४३५ रुपैयाँ मूल्य तोकिएको भएपनि अधिकांशले १०० रुपैयाँ प्रतिकित्ताका आधारमा आवेदन दिएकाले घोराही सिमेन्टको आईपीओ भर्ने म्याद थपिएको छ।
यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। तर, यथोचित संख्यामा आवेदन प्राप्त भए पनि आवेदन प्रमाणित हुने प्रक्रियामा रहेकोले आवेदन दिने म्याद असार १४ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ।
घोराहीले सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयरका लागि हालसम्म ५ लाख २८ हजार १६६ जनाले २ करोड ४० लाख ५७ हजार १३० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा बढी हो। तर कम्पनीले यतिधेरै आवेदन पर्दा पनि झुटो विवरणका कारण बिक्री अवधि थपिएको छ।
धितोपत्र ऐनको दफा ९८ मा जालसाजीयुक्त कुनै क्रियाकलाप गर्नेलाई १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना र दुई वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ। यस्तो कारोबारबाट कसैलाई हानीनोक्सानी भएको छ भने सो समेत क्षतिपूर्ति भराइदिनुपर्ने कानुनमा छ।


