काठमाडौँ: पछिल्ला तीन वर्षयता आर्थिक गतिविधि सुस्त हुँदा बैंकमा अधिक लगानीयोग्य पुँजी (तरलता) रहेको छ। बैंकमा अधिक तरलता भई ब्याजदर एकल अंकमा आउँदा पनि व्यवसायीहरुले पनि खुलेर लगानी नगरेको अवस्था छ।
यही समयमा पर्यटकीय राजधानी पोखरामा अर्को पाँचतारे होटल थपिने भएको छ। व्यवसायी कर्मा तेन्जिङले अर्बौं रुपैयाँ लगानीमा होटल तथा लक्जरी अपार्टमेन्ट बनाउन सुरु गरेका छन्।
तिनै तेन्जिङले पोखरामा इम्पेरियर हस्पिटालिटी एन्ड होटल्समार्फत पाँचतारे होटल निर्माण गर्न लागेका छन्। प्रस्तावित होटलमा १३० कोठा हुनेछ। होटल परियोजनाको काम प्रारम्भीक चरणमा छ। होटल बनाउन दुई अर्ब ७७ करोड लाग्ने अनुमान गरिएको छ। जसमध्ये दुई अर्ब छ करोड रुपैयाँ बैंकको ऋण र बाँकी ७१ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ।
होटलमा ७४ प्रतिशत ऋण र २४ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। होटल पूर्वाधार बनाउन जग्गा अधिग्रहणको काम सकिएको छ। यस्तै हालसम्म ३४ प्रतिशत वित्तीय प्रगति भएको इम्पेरियर हस्पिटालिटीले जनाएको छ।
कुल ऋण मध्ये ६२ करोड ९० लाख रुपैयाँ ऋण बैंकबाट स्वीकृत भइसकेको छ। हालसम्म होटल परियोजनामा ८८ करोड ८० लाख रुपैयाँ लगानी भइसकेको छ।
होटल ले मेरेडियन ब्राण्डमा सञ्चालन हुने भएको छ। होटल व्यवस्थापन सञ्चालनका लागि इम्पेरियर हस्पिटालिटी र स्टारवुड एसिया प्यासिफिक होटल्स एण्ड रिसोट्र्स ग्रुपअन्तर्गतको एक प्रमुख होटल व्यवस्थापन कम्पनी स्टारवुड एशिया प्यासिफिक होटल्स एण्ड रिसोर्टसँग होटल व्यवस्थापन सम्झौता गरेको छ।
चार अर्बमा महाराजगञ्जमा पाँचतारे होटल बनाउँदै कर्मा हस्पिटालिटी, ‘ले मेरेडियन’ ब्राण्डमा चल्ने
म्यारियट होटल्स ग्रुपले १४३ देशहरूमा नौ हजार सात सय भन्दा बढी होटलहरू सञ्चालन गरिरहेको छ। जसमा बजेटदेखि विलासी होटल छन्। यस एडिसन, जेडब्ल्यू म्यारियट, मेरिडियन, शेराटन र अलोफ्ट जस्ता ब्रान्डहरू समावेश छन्।
प्रस्तावित होटल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलोमिटर दुरीमा रहेको छ। पोखरा नेपालको एक प्रमुख पर्यटन केन्द्र हो। जहाँबाट बलियो सडक सम्पर्क रहेको छ।
पोखरा विमानस्थल हुँदै शहरको पहुँचले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै पाहुनाहरूको लागि सहज यात्राको सुविधा प्रदान गर्दछ। शान्त फेवा तालको छेउमा अवस्थित र भव्य अन्नपूर्ण र माछापुच्छ्रे श्रृंखलाले घेरिएको पोखराले अद्भूत प्राकृतिक सौन्दर्य र शान्त वातावरण प्रदान गर्दछ।
पोखराले घान्द्रुक, अन्नपूर्ण सर्किट र घोरेपानी पून हिल जस्ता लोकप्रिय पदयात्रा मार्गहरूको प्रवेशद्वारको रूपमा काम गर्दछ। देवीको झरना, विश्व शान्ति स्तूप, र सारङकोट दृष्टिकोण जस्ता आकर्षणहरूको नजिक पनि छ।
इम्पेरियर हस्पिटालिटी सन् २०२४ मा स्थापना भएको हो। होटलमा क्यासिनोलगायत सम्पूर्ण आधुनिक पाँचतारे स्तरका सेवा प्रदान गर्नेछ। होटल पूर्वाधार एक लाख ५१ हजार ९६० स्क्वायर फिटमा फैलिने भएको छ।
दुई पाँचतारे होटल र अपार्टमेन्ट बन्दै
राजधानीको महाराजगञ्जमा १७० कोठाको पाँचतार होटलसँगै १६२ युनिट लक्जरी अपार्टमेन्ट बनाइरहेका कर्मा छिरिङले पोखरामा १३० कोठा भएको पाँचतारे होटल ल्याउन लागेका हुन्।
ठमेलमा पाँचतारे होटल निर्माण गरिरहेको कम्पनीले महाराजगञ्जमा पाँचतारे होटल बनाउने भएको हो। करिब ४ अर्ब रुपैयाँको लागतमा ‘ले मेरिडियन’ ब्रान्डमा सञ्चालन गर्नेगरी कम्पनीले होटल निर्माण गरिरहेको छ।
गुडकर्मा ग्रुपले किन्यो ठमेलको वैशाली होटल, दुई अर्ब ६७ करोड लगानीमा पाँचतारे होटल बनाउँदै
होटलमा ७३ प्रतिशत बैंकको ऋण र २७ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। प्रस्तावित होटल अझै विकासको प्रारम्भिक चरणमा छ। निर्माण चरण अझै सुरु हुन बाँकी छ।
कर्मा हस्पिटालिटीले २६ वर्षको प्रस्तावित होटल ‘ले मेरिडियन’ ब्रान्ड नाम प्रयोग गर्न लक्जरी म्यानेजमेन्ट होटल्स (बीभीआई) लिमिटेडसँग सम्झौता गरेको छ।
कर्माले होटलसँगै महाराजगञ्जमै रेसिडेन्सियल लक्जरी अपार्टमेन्ट पनि बनाइरहेको छ। हाल उक्त होटल तथा अपार्टमेन्टको कन्सेप्ट तथा डिजाइन निर्माणको काम सम्पन्न भइसकेको छ।
कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ। कर्मा छिरिङ एकमात्र प्रवर्द्धक तथा कम्पनीका अध्यक्ष हुन्।
पहिलो चरणमा ५६ युनिटको सेवायुक्त अपार्टमेन्ट परियोजना विकास गरिरहेको छ। रेसिडेन्समा तीनवटा हाइराइज बिल्डङ हुने भएका छन्। २.५ र ३.५ बीएचके अपार्टमेन्ट बनिरहेका छन्। कर्मा समूहको रियल इस्टेट, शिक्षा र आतिथ्य क्षेत्रमा लगानी रहेको छ।
कर्माले यसअघि राजधानीको ठमेलमा रहेको होटल वैशालीलाई खरिद गरी पाँच तारे बनाउने कार्य सुरु गरिसकेको छ। प्रस्तावित पाँचतारे होटल बनाउन दुई अर्ब ६७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आगामी २०२८ सम्ममा पूर्णरूपमा व्यावसायिक सञ्चालन गर्ने योजना बनाएको छ।
कम्पनीले ठमेलमा अवस्थित होटल वैशालीको अवस्थित सम्पत्तिलाई ‘फोर पोइन्ट्स बाइ शेराटन’ ब्रान्डअन्तर्गत पाँचतारे होटलमा अधिग्रहण र पुनर्निर्माण गर्ने योजना बनाएको हो। प्रस्तावित होटलमा १०८ वटा कोठा हुने बाताइएको छ।


