काठमाडौँ: विश्वप्रसिद्ध राइड–हेलिङ सेवा उबरले नेपालमा आफ्नो सेवा सुरु गरेको छ । बुधबारदेखि ‘टेस्ट लन्च’ गर्दै कम्पनीले काठमाडौं उपत्यकामाभित्रका विभिन्न गन्तव्यका लागि एपमार्फत राइड बुक गर्ने सुविधा उपलब्ध गराएको हो ।
सेवा सुरु भएसँगै प्रयोगकर्ताले अब बाइक, कार र ट्याक्सी राइड उबर एपबाट नै सजिलै बुक गर्न सक्नेछन् । कम्पनीले केही समयदेखि चालक तथा प्रयोगकर्ता दर्ता प्रक्रिया पनि तीव्र बनाइरहेको छ ।
नेपालमा सेवा विस्तारलाई व्यवस्थित बनाउन उबरले स्थानीय राइड–सेवा प्रदायक ट्याक्सीमाण्डु सँग सहकार्य गरेको छ । सम्झौताअनुसार उबरले आफ्नो प्रविधि र एप उपलब्ध गराउनेछ भने चालक व्यवस्थापन, अनबोर्डिङ तथा स्थानीय सञ्चालन ट्याक्सीमाण्डुले सम्हाल्नेछ ।
काठमाडौंमा पहिले नै पठाओ, इनड्राइभ र याङ्गो जस्ता राइड–सेवा प्लेटफर्म सक्रिय छन् । तीसँग प्रतिस्पर्धा गर्न उबरले प्रारम्भिक चरणमा प्रयोगकर्ताका लागि १५ देखि ३० रुपैयाँसम्म छुट अफर समेत दिएको छ ।
विशेषगरी उबर प्रयोगमा अभ्यस्त रहेका विदेशी पर्यटकहरूका लागि यो सेवा नेपालमा यात्रा गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
सन् २००९ मा स्थापना भएको उबर हाल विश्वका ७० भन्दा बढी देशका १० हजारभन्दा बढी सहरमा सञ्चालनमा रहेको छ ।


