काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुँदैछ।
महासंघको संशोधित विधानअनुसार निर्वाचित कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन गर्नेछ। महासंघ अध्यक्ष श्रेष्ठले निर्वाचनअघि ६ जना कार्यकारिणी समिति सदस्य मनोनित गर्ने र तिनको शपथ समेत शुक्रबार नै गर्ने कार्यक्रम रहेको छ।
एफएनसीसीआईको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, सुरकृष्ण वैध र हेमराज ढकाल भिड्दैछन्। ढकालले यसअघि गत वैशाख २२ गते सम्पन्न निर्वाचनमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए।
यस्तै कोषाअध्यक्षमा मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन्।
यसअघि अन्य पदाधिकारीहरू चयन भैसकेका छन्। गत वैशाख २२ गते सम्पन्न ६०औँ वार्षिक साधारणसभाबाट अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो।
निर्वाचनबाट एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे र वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका थिए।
जिल्ला तथा नगरतर्फबाट पनि दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका थिए।



