२०८३ कार्तिक १२ गते बुधबार

‘सरकारले बस चलाउने र व्यापार गर्ने हैन, निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाइदिने हो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १२
photto-2_ceab1afd

मुलुकको अर्थतन्त्र यतिबेला गम्भीर मोडमा छ। एकातिर सरकारले राजस्वको तुलनामा निकै ठूलो आकारको बजेट ल्याउने तयारी गरिरहेको छ भने अर्कोतिर नीतिगत अस्थिरता र उद्योगी/व्यवसायीहरू पक्राउ परिरहेका कारण निजी क्षेत्र सशंकित देखिन्छ। सरकार आफैँ व्यापार गर्ने कि निजी क्षेत्रलाई वातावरण बनाइदिने? पुराना उद्योग ब्युँताउने सरकारी योजना कति व्यावहारिक छन्? तथ्याङ्कमा देखाइएको आर्थिक सुधारको वास्तविकता के हो? यिनै समसामयिक विषयमा केन्द्रित रहेर अर्थविद् डा. गोपीलाल न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंश–

अहिले सरकार र स्थानीय तहका नीतिहरू निजी क्षेत्रमैत्री छैनन् भन्ने सुनिन्छ, यसलाई तपाईँले कसरी हेर्नुभएको छ?

वर्तमान सरकार र काठमाडौँ महानगरपालिकासहितका स्थानीय तहका नीतिहरू पछिल्लो समय निजी क्षेत्रविरोधी बन्दै गएका छन्। सरकारको वास्तविक भूमिका व्यापार गर्ने वा बस चलाउने होइन। सरकारले त निजी क्षेत्रलाई लगानीका लागि सहज वातावरण र आवश्यक पूर्वाधार मात्र निर्माण गरिदिने हो। जब सरकार आफैं उद्योग सञ्चालन गर्ने र विभिन्न बहानामा निजी क्षेत्रलाई नियन्त्रण गर्न खोज्छ, तब मुलुकको अर्थतन्त्र कमजोर हुन थाल्छ। अहिले राज्यले निजी क्षेत्रलाई खुम्च्याएर एकाधिकार जमाउन खोज्नु अर्थतन्त्रका लागि निकै घातक छ।

सरकारले पुराना र बन्द भएका उद्योगहरू पुनः सञ्चालन गर्ने योजना अघि सारेको छ, यसमा तपाईँको विमति हो?

हो। हिमाल सिमेन्ट, हेटौँडा कपडा कारखाना र गोरखकाली टायर जस्ता दशकौँदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने कुरा पूर्णतः अव्यावहारिक छ। ती उद्योगहरू पुराना प्रविधिमा आधारित छन्। अहिलेको समयमा तिनलाई ब्युँताउने नाममा कर्मचारीतन्त्रमा कमिसन र भ्रष्टाचार मात्र बढ्ने निश्चित छ। यस्ता काममा हात हाल्नुभन्दा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ।

सार्वजनिक यातायातको नयाँ दर्ता बन्द गर्ने निर्णयलाई कसरी लिनुभएको छ?

यो निर्णय पूर्ण रूपमा खुला बजार अर्थतन्त्रको मर्मविपरीत छ। नयाँ दर्ता बन्द गर्नु भनेको यातायात क्षेत्रमा सरकारी एकाधिकार कायम गर्न खोज्नु हो। यसले निजी लगानीकर्तालाई निरुत्साहित मात्र गर्दैन, सेवाको गुणस्तरमा पनि ह्रास ल्याउँछ।

सरकारले ल्याउन लागेको आगामी बजेट र राजस्वको सन्तुलनलाई तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ?

अहिले सरकारको वास्तविक आम्दानी करिब ११ खर्ब रुपैयाँ मात्र छ। तर, २० खर्बभन्दा बढीको बजेट ल्याउने तयारी भइरहेको छ, जुन अत्यन्तै जोखिमपूर्ण छ। सरकारले आलु, प्याज, चामल र दालजस्ता खाद्यान्नमा समेत कर लगाएर ११ खर्ब उठाउँछ, तर बाँकी ९ खर्ब ऋण लिनुपर्ने अवस्था छ। यस्तो नीतिले आर्थिक संकट समाधान गर्दैन, बरु भ्रष्टाचारलाई निरन्तरता दिन्छ।

सरकारले बैंकिङ प्रणालीबाट ठूलो मात्रामा ऋण (तरलता) उठाउँदा निजी क्षेत्रलाई कस्तो असर पर्छ?

जब सरकारले बैंकिङ प्रणालीबाट तरलता तान्छ, निजी क्षेत्रले नयाँ उद्योग खोल्न, व्यापार विस्तार गर्न र रोजगारी सिर्जना गर्न आवश्यक ऋण पाउँदैन। उत्पादनशील क्षेत्रमा जानुपर्ने पुँजी सरकारले प्रशासनिक खर्च, कर्मचारीको तलब र सुरक्षा निकायको खर्च धान्न प्रयोग गर्दा अर्थतन्त्र थप धराशयी बन्छ।

नेपालबाट पुँजी पलायन भइरहेको कुरा पनि तपाईँले उठाउनुभएको छ, यसको कारण के हो?

नीतिगत अस्थिरता र निजी क्षेत्रप्रति सरकारको अनुदार दृष्टिकोण नै यसको मुख्य कारण हो। पछिल्ला दुई महिनामै अर्बौं रुपैयाँ बैंकिङ च्यानलमार्फत विदेशिएको छ। यो गम्भीर आर्थिक संकटको संकेत हो। जब लगानीकर्ताले स्वदेशमा सुरक्षा र प्रतिफल देख्दैनन्, तब पुँजी पलायन हुनु स्वाभाविक हो।

राजनीतिक दलहरूले पुँजीपति वर्गलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ?

राजनीतिक दलहरूले वर्गीय नारामार्फत समाजलाई विभाजन गरिरहेका छन्। ‘व्यापारीलाई नाफा कमाउन नदिने’ र ‘पुँजीपतिलाई लखेट्ने’ मानसिकताले देश विकास हुँदैन। यदि पुँजीपति नै रहेनन् भने उद्योग कसले खोल्छ? रोजगारी कसले दिन्छ? सरकार कुनै एउटा वर्गको मात्र हुनु हुँदैन, यसले त लगानीको वातावरण पो बनाइदिनुपर्छ।

तपाईँले अर्थतन्त्रका सूचकहरू बलिया छन् भन्नुभयो, तर नेतृत्वले भ्रम फैलायो भन्नुको आशय के हो?

हो, नेपालको अर्थतन्त्र कमजोर छैन, बरु यसलाई परिचालन गर्ने नेतृत्व क्षमता कमजोर हो। अहिले पनि बैंकहरूमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी (तरलता) छ। रेमिट्यान्सको प्रवाह राम्रो छ। तर, नयाँ अर्थमन्त्रीहरू आउनासाथ हिजो सबै खत्तम थियो, म आएपछि मात्र सुधार हुन्छ भन्ने भाष्य निर्माण गर्छन्। तथ्यभन्दा बढी निराशा र भ्रम फैलाउने काम भइरहेको छ।

बजेट खर्च र यसको प्रभावकारितामा कहाँनेर समस्या देख्नुहुन्छ?

सरकारले १५ खर्ब रुपैयाँभन्दा बढी खर्च गरिसक्दा पनि देशमा नमुना योग्य सडक वा पूर्वाधार बनेका छैनन्। बजेट ल्याइन्छ तर त्यो कहाँ र कसरी खर्च भयो भन्नेबारे संसद्मा कहिल्यै गम्भीर समीक्षा हुँदैन। जनताको करको पैसा कहाँ गयो भनेर सांसदहरूले मन्त्रीलाई प्रश्न गर्नुपर्छ र भ्रष्टाचार भएको ठाउँमा सुधार गर्नुपर्छ।

तपाईँले सरकारी जीडीपी (कुल गार्हस्थ्य उत्पादन) मापन पद्धतिलाई भ्रामक भन्नुभयो नि, किन?

सरकारले वास्तविक उत्पादन नबढाई केवल मूल्यवृद्धिलाई जीडीपी बढेको रूपमा देखाउने गरेको छ। एउटा उदाहरण दिऊँ- गत वर्ष १०० वटा अण्डा १५ सयमा बिक्री भयो। यसपालि उत्पादन बढेर २०० वटा हुनुपर्नेमा उही १०० वटा अण्डाकै मूल्य १५ हजार पुर्‍याइयो भने तथ्याङ्कमा जीडीपी बढेको देखिन्छ, तर वास्तविक उत्पादन त बढेको छैन नि। सरकारले उत्पादन र उत्पादकत्व वृद्धि नगरी कृत्रिम तथ्याङ्क देखाएर अर्थतन्त्र सुध्रिएको दाबी गरिरहेको छ।

अर्थतन्त्र सुधारका लागि सरकारलाई तपाईँका सुझावहरू के-के छन्?

सरकार व्यापारमा होइन, निजी क्षेत्र पुग्न नसक्ने ठाउँमा जस्तै- गाउँमा खानेपानी, सिँचाइ, झोलुङ्गे पुल र सडक निर्माणमा केन्द्रित हुनुपर्छ। व्यवसायमा रहेको कोटा प्रणाली र लाइसेन्सको झन्झट हटाएर खुला प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ। बहुविध कर प्रणाली खारेज गरी एकल कर प्रणाली लागू गर्नुपर्छ। नयाँ उद्योग स्थापना गर्दा सुरुआती तीन वर्षसम्म बिजुली, पानी र सञ्चार सेवा निःशुल्क उपलब्ध गराउनुपर्छ। सीमान्तकृत नागरिकको जीवनस्तर उकास्नुलाई सरकारले पहिलो दायित्व बनाउनुपर्छ।

प्रकाशित: २०८३ जेठ १२ गते मङ्गलबार १०:४९
प्रतिक्रिया

थप समाचार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो: थापा [अन्तर्वार्ता]

क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ। हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावना...

जलविद्युत्‌का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ: हितेन्द्र देव शाक्य [अन्तर्वार्ता]

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत्‌ आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन...

‘जबसम्म १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म ग्यास आपूर्ति सहज हुँदैन’

मन्त्रीज्यू फ्याक्ट्रीहरूमा घुम्दै जाने, फोन उठाएर ‘आऊ म तिमीलाई ग्यास दिन्छु’ भनेर भन्नु जायज होइन। त्यो गर्नुको सट्टा मन्त्रीले राजदूत वा, फस्र्ट सेक्रेटरी, फरेन अफेयर्स मिनिस्ट्रीमार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना