बेइजिङ: नेपाल पनि सेयर सदस्य भएको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) पश्चिम एसियामा द्वन्द्वबाट प्रभावित सदस्य मुलुहरूलाई १० अर्ब अमेरिकी डलरको सहायता घोषणा गरेको छ। एआईआईबीमा चीनपछि छिमेकी भारत दोस्रो ठूलो सेयरधारक हो।
बेइजिङमा मुख्यालय रहेको उक्त बैंकले ऊर्जा, खाद्य सुरक्षा र वित्तीय सुविधा आफ्ना सदस्य देशहरूका लागि खुला गरेको छ। नियमित वित्तीय उपकरणहरूको पूरकको रूपमा एआईआईबीले वित्तीय सुविधामार्फत दुई वर्षमा १० अर्ब अमेरिकी डलरसम्मको समय सीमाबद्ध लगानी गर्ने भएको छ।
जसले ऊर्जा सुरक्षा, खाद्य सुरक्षा र आर्थिक क्षेत्रका लागि यसको सदस्यहरू र ग्राहकहरूलाई उनीहरूको तीव्र आवश्यकताहरू सम्बोधन गर्ने एआईआईबीले एक विज्ञप्ति जारी जानकारी दिएको छ। यो वित्तीय सुविधा बजेटरी सहयोग, महत्वपूर्ण खर्च, आयात प्रभावित सदस्य मुलुकहरू र ग्राहकहरूलाई थप लगानी दिने भएको छ।
एआईआईबीले वित्तीय सहयोग प्रदान गर्न सहकर्मी बहुपक्षीय विकास बैंकहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्य विकास साझेदारहरूसँग नजिकबाट काम गर्ने पनि बताएको छ।
‘यो वित्तीय सुविधाले सदस्य मुलुकहरुलाई बाह्य झट्काले उत्पन्न हुने विकास प्रभावहरूलाई सम्बोधन गर्न सक्षम बनाउनेछ। यस्तै दीर्घकालीन लचिलोपनलाई सुदृढ पार्नेछ,’ एआईआईबीका अध्यक्ष जोउ जियायीले भनेका छन्।
पश्चिम एसियालमा द्वन्द्व र तेल र ग्यासको विश्वव्यापी आपूर्तिको २० प्रतिशत बढी हिस्सा रहेको प्रमुख व्यापार मार्ग होर्मुज बन्द भएको कारण भारतसहित धेरै देशहरूको अर्थतन्त्रमा प्रतिकूल असर परेको छ।
एआईआईबीको पहल बहुपक्षीय विकास बैंकहरूको समूहले गरेको घोषणापछि आएको हो। जसले चलिरहेको द्वन्द्वबाट प्रभावित देशहरूको लागि सहयोगलाई सुदृढ पार्ने वाचा गरेको छ।
जारी गरिएको संयुक्त विज्ञप्तिमा एसियाली विकास बैंक (एडीबी), अफ्रिकी विकास बैंक समूह, युरोप विकास बैंक परिषद्, पुनर्निर्माण तथा विकासका लागि युरोपेली बैंक, युरोपेली लगानी बैंक, अन्तर–अमेरिकी विकास बैंक समूह र विश्व बैंक समूहले ऊर्जा तथा व्यापार मार्गहरूमा अवरोधहरू र रोजगारी, वित्तीय स्थितिमा व्यापक प्रभावहरू सम्बोधन गर्न सहयोग खोज्ने सरकारहरुको अनुरोधहरूको जवाफ दिइरहेका छन्।
सन् २०१६ देखि सञ्चालनमा आएको एआईआईबीमा विश्वभर १०० भन्दा बढी मुलकहरू सदस्य छन्। जसमा चीन, भारत, बंगलादेश, पाकिस्तान, इरान, इराक, अष्ट्रेलिया, इजरायल, कुवेत, नेपाल, ओमान, रूस, सिंगापुर, श्रीलंका र युएई समावेश छन्।
बैंकको पुँजीकरण एक खर्ब अमेरिकी पुगेको छ। प्रमुख अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीहरूद्वारा त्रिपल ए रेटिङ स्कोर प्रदान गरिएको छ।
बैंकको आधिकारिक रेकर्डअनुसार चीन २६.५४ प्रतिशत हिस्साका साथ सबैभन्दा ठूलो सेयरधारक हो। त्यसपछि भारतको ७.५८, रूसको ५.९ र जर्मनीको ४.१ प्रतिशत सेयर रहेको छ। यस्तै नेपालको ज्यादै न्यून लगानी रहेको छ।


