काठमाडौं। सिटिजन्स बैंकले दुई अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले आठौँ विशेष साधारण सभा आगामी असार ३ गते आयोजना गर्ने भएको छ। सभाको मुख्य एजेन्डाका रूपमा बैंकले दुई अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार सभा बिहान ९ बजेदेखि बैंकको प्रधान कार्यालय नारायणहिटी पथमा भौतिक तथा ‘जुम’मार्फत भर्चुअल रूपमा एकैसाथ सञ्चालन गरिनेछ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २ करोड कित्ता “७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्न नियामक निकायको स्वीकृति लिने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
यसका साथै अग्राधिकार सेयर निष्कासनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र पूँजी संरचनामा परिवर्तन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
यसअघि सम्मानित सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको सञ्चालक निर्वाचन प्रक्रिया पनि पुनः अगाडि बढाइने भएको छ। अदालतले २०८२ चैत १५ गते रिट खारेज गरेपछि अब समूह ‘क’ अर्थात् संस्थापक समूहबाट १ जना तथा समूह ‘ख’ अर्थात् सर्वसाधारण समूहबाट ३ जना गरी ४ जना सञ्चालक चयन गरिनेछ।
विशेष साधारण सभा प्रयोजनका लागि बैंकले आगामी जेठ २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार जेठ २५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी भई मतदान गर्न पाउनेछन्।


