काठमाडौँ: भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताएको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै दुई देशबीचको सीमांकनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए।
प्रवक्ता जयसवालका अनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेका हुन्। यसका साथै, सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा (नो म्यान्स ल्याण्ड) अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्शांकन भइरहेको उनले बताए।
उनले यो पूर्ण रूपमा द्विपक्षीय मामिला भएको र यसमा तेस्रो पक्षको कुनै भूमिका नरहने बताउँदै आइतबार नेपालको संसद्मा प्रधानमन्त्री वालेन्द्र शाहले बोलेको कुरालाई अस्वीकार गरेका छन्। प्रधानमन्त्री शाहले नेपाल र भारत सीमा समस्याबारे कुटनीतिक पहल भइरहेको र बेलायतलाई पनि यसबारे कुटनीतिक नोट पठाइएको जानकारी दिएका थिए।
उनले नेपालले पनि भारतको सीमा मिचेको भनेपछि अहिले नेपालमा तीव्र विरोध भइरहेको छ। सोही कारण भारतले स्पष्टीकरण दिएको हो।
नेपालको सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछाने यतिवेला भारत भ्रमणमा छन्। लामिछानेको भ्रमणबारे मन्त्रालयले भारत र नेपालबीच बहुआयामिक सम्बन्ध रहेको बताएको छ। उनी यहाँ उच्चस्तरीय भेटघाटमा सहभागी हुनेछन्।


