काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो।
भेटपछि प्रतिक्रिया जनाउँदै लामिछानेले मोदीको प्रशंसा गरेका छन्। उनले मोदीको धारणा विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने धारणा भन्दै त्यसमा आफू सहमत भएको बताए।
उनले भनेका छन्, ‘एक घण्टा लामो उत्पादकमूलक वार्तामा संलग्न हुन पाउँदा साँच्चै नै ठूलो खुसी लाग्यो। म तपाईंको भविष्यको दृष्टिकोण साझा गर्दछु जहाँ नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अँगाल्नेछन्।’
उनले साझा सभ्यता सम्बन्ध, डिजिटल कोरिडोर र निर्बाध कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेर दुई देशबीच प्रगति र पारस्परिक विश्वासद्वारा परिभाषित साझेदारी निर्माण गर्न सक्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी दुई देशबीचको साझा समृद्धिका लागि तत्पर रहेको उनले बताएका छन्।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गरेका छन्। उनले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उनको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरेका छन्।


