काठमाडौँः केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डेलाई बैंकिङ कसूरसम्बन्धी आरोपमा पक्राउ गरेको छ।
सीआईबीका अनुसार पाण्डेले कृषि, वन तथा पशु चिकित्सा विज्ञान संस्थान नामक कृत्रिम संस्था खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै कर्जा लिएका थिए। साथै, धितो सम्पत्तिको मूल्य अस्वाभाविक रूपमा बढाएर मूल्यांकन गराई प्रभु बैंकबाट कर्जा प्राप्त गरेको अनुसन्धानमा खुलेको छ।
प्रहरीका अनुसार उनले कर्जा स्वीकृत भएको उद्देश्यभन्दा फरक प्रयोजनमा रकम प्रयोग गर्दै पटक–पटक कर्जाको दुरुपयोग गरेका थिए। सोही आधारमा उनलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत पक्राउ गरिएको हो।
उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएपछि सीआईबीको टोलीले बुधबार धनुषाको क्षिरेश्वरनाथस्थित जानकी मेडिकल कलेज परिसरबाट पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।


