काठमाडौँ: सिंगापुरमा सम्पन्न एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। सोमबार भएको फाइनल खेलमा हङकङलाई डकवर्थ–लुइस–स्टर्न (डीएलएस) विधिका आधारमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
हङकङले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रामक सुरुआत गरेको थियो। ११.३ ओभरमा दुई विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएपछि डीएलएस गणनाअनुसार नेपाल विजयी घोषित भयो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। उनले ४० बलमा ६५ रन बनाउने क्रममा ८ चौका र ३ छक्का प्रहार गरे। रोहित पौडेल ३५ रनमा तथा कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे।
नेपालले सुरुमै आशिफ शेखको विकेट गुमाएको थियो। आशिफ रनको खाता खोल्न नसकी आउट भए। त्यसपछि कुशल र रोहितले दोस्रो विकेटका लागि ६३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। हङकङका लागि अन्सुमन रथले ४५ बलमा ८० रनको विस्फोटक इनिङ्स खेले। उनले ६ चौका र ६ छक्का प्रहार गरे। साहिद वासिफले ५५ रन तथा शिव माथुरले २६ रनको योगदान दिए।
नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे। उनले ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
प्रतियोगिताको सेमिफाइनलमा पुगेपछि नेपाल, हङकङ, मलेसिया र ओमानले आगामी वर्ष जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका थिए। यी चार टोलीले अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका तथा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछन्।
जापानमा हुने एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर ४ बाट सुरु हुनेछ भने स्वर्ण पदकका लागि हुने फाइनल अक्टोबर ३ मा खेलाइने तालिका छ।


