काठमाडौँः सरकारले सरकारी स्वामित्वका दुई प्रमुख बैंकमा नयाँ अध्यक्ष नियुक्त गरेको छ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयलाई कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष तथा सहसचिव सुमन दाहाललाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा नियुक्त गरिएको हो।
सरकारले अघिल्लो कार्यकालमा राजनीतिक नियुक्तिबाट आएका पदाधिकारीहरूको व्यवस्थापन गर्ने नीति अवलम्बन गरेपछि दुवै बैंकका तत्कालीन अध्यक्षहरूले पदबाट राजीनामा दिएका थिए। सोही कारण रिक्त रहेका पदमा अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्ने सञ्चालकहरूलाई अध्यक्षको जिम्मेवारी दिइएको जनाइएको छ।
यसअघि राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र कृषि विकास बैंकका अध्यक्ष डिमप्रसादले सरकारको नीतिगत निर्देशनपछि आफ्नो पदबाट राजीनामा दिएका थिए।
नवनियुक्त अध्यक्षहरूले बैंकको संस्थागत सुशासन, सेवा विस्तार तथा वित्तीय क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै काम गर्ने अपेक्षा गरिएको छ। सरकारी स्वामित्वका यी दुई बैंक नेपालको बैंकिङ प्रणालीका महत्वपूर्ण वित्तीय संस्थाका रूपमा परिचित छन्।


