काठमाडौँः वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स (विप्रेषण आप्रवाह) मा चालु आर्थिक वर्ष उच्च वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाहमा ४१.२ प्रतिशतको वृद्धि भएको छ।
आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्ममा कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १३.३ प्रतिशत (१३ खर्ब ९ अर्ब) मात्र रहेको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह ३३.० प्रतिशतले बढेर १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले मात्र बढेको थियो।
राष्ट्र बैंकका अनुसार वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्र भित्रिएको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) समेत बढेर २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
रेमिट्यान्स रकम बढे पनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने केही गिरावट आएको छ। १० महिनासम्ममा ३ लाख ३५ हजार ५१० जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ लाख ५ हजार ६१० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए।
त्यस्तै, ३ लाख २६ हजार ३६४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा २ लाख ८० हजार ३१४ थियो पुनः श्रम स्वीकृति लिएका थिए।
रेमिट्यान्समा भएको यो उच्च वृद्धिकै कारण देशको विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा पुगेको छ भने शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्बले बचतमा रहेको छ। यसले मुलुकको बाह्य क्षेत्रलाई निकै बलियो बनाएको राष्ट्र बैंकको प्रतिवेदनले पुष्टि गरेको छ।


