२०८३ कार्तिक ११ गते मङ्गलबार

म पनि तिम्रा नाममा रंगशाला बनाइदिउँला. . .

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, असार ५
cover
रंगशाला निर्माणस्थल। इन्सेटमा श्रीमती सुदीक्षासहित विनोद कुँवर।

भैरहवा- ‘राजाले रानीको सम्झनामा रानीमहल बनाए, म पनि रानीको नाममा स्टेडियम बनाइदिउँला,’ पाल्पाको रानीमहलअघि खिचिएको श्रीमतीसँगको फोटो फेसबुकमा राख्दै विनोद कुँवरले लेखे।

रानीलाई खुसी पार्न राजा प्रताप मल्लले रानीपोखरी बनाइदिएका थिए। खड्ग शमशेरले तेजकुमारी देवीका नाममा रानीमहल बनाएको देशमा विनोद अहिले श्रीमतीका नाममा रंगशाला बनाउन जुटेका छन्। त्यसो त यो काममा उनकी श्रीमतीले पनि भरपुर सहयोग गरिरहेकी छन् विनोदलाई।

सरकारले बनाउन नसकेको क्रिकेट रंगशाला विनोदले बनाउलान् त? धेरैलाई शंका लागेको छ। गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुससुन्तली फाउन्डेसनको असफलताको स्मृति पुरानो भइनसकेकाले धेरैले विनोदको जोडीमाथि पनि शंका गर्नु अस्वाभाविक होइन। तर विनोदको रंगशाला योजनाको वाचा कुनै प्रेमीले प्रेमिकाका लागि आकाशको तारा झारिदिन्छु भनेजस्तो मात्र होइन रे। उनी साँच्चिकै कम्मर कसेर लागेका छन् रंगशाला योजनालाई मूर्त रूप दिन।

‘धेरैलाई विश्वास होस् भन्न र सम्भव छ भन्ने कुरा बुझाउन मैदान सम्याएर मात्र शिलान्यास गरेको हो। मैदान बन्छ बन्छ भन्ने कुराको आधार यही हो,’ गएको सोमबार शिलान्यास गर्दाका बखतमा विनोदले गहिरो स्वरमा भने, ‘बोलेपछि गरेनौँ भने त्यसले अर्थ राख्दैन। एक वर्षमा जे योजना बनाएको छ त्यो गरेर सक्छौँ।’

शिलान्यास कार्यक्रम।

सोमबार रुपन्देहीमा रंगशालाको शिलन्यास गर्नुअघि धेरैलाई विनोदको रंगशाला परियोजनाबारे थाहा थिएन।

केही दिनअघि मात्र ट्रकका ट्रक माटोले बनेका साना डाँडा डोजरले सम्याउन थालेपछि गाउँलेहरु अचिम्मित परेका थिए। माटो सम्याउन थालिएको स्थानमा उनीहरूले घेरा हाल। के गर्न लागेको भनेर वरिपरिकै बासिन्दाले थाहा पाएका थिएनन्। विनोद र उनको टिमले गाउँलेलाई जानकारी गराए, अनि पो गाउँलेले थाहा पाए- आफ्नै घरअघि त रंगशाला बन्दै रहेछ। त्यो जमिन उनले तिनै गाउँलबाट किनेका थिए।

‘यो रंगशाला बन्नुभन्दा अघि पनि यहाँ सानो ठाउँमा क्रिकेट खेलिन्थ्यो,’ भैरहवामा लामो समय बसेका दीपेन्द्र कुँवरले मैदान देखाउँदै भने। अब त्यहाँ विधिपूर्वक मैदान तयार हुँदैछ र नगरकै दुर्गम क्षेत्र मानिएको पूर्वी दरखसुवामा सुविधासम्पन्न एकेडेमी बन्दैछ।

विनोदले क्रिकेटमा लगानी गर्ने योजना सनकमा बनाएका होइनन्। आफैं पनि क्रिकेटका फ्यान विनोदले लामो समयदेखि नेपाली क्रिकेटलाई नियाल्दै आएका छन्। ‘हाम्रो देशले एसिया कप खेल्ने तय हुँदा, विश्वकपको ग्लोबल छनोट खेलिरहँदा देशमा एउटा पनि राम्रो रंगशाला छैन,’ विनोद भन्छन्, ‘हामीले क्रिकेट रंगशाला धेरै समय कुर्‍यौँ। फुटबलको रंगशाला धेरै बने, त्रिकेट रंगशाला बनेन। त्यसैले हामी बनाउने लागेका हौं।’

क्रिकेट मैदानको निर्माणको इतिहास खास सम्झनलायक छैन। पुरानो योजनामा पर्ने काठमाडौँ मूलपानीस्थित रंगशाला १७ वर्षसम्म बन्न सकेन। त्रिवि क्रिकेट मैदानमा समर्थकले भुईंमै बसेर क्रिकेट हेर्नुपर्छ। मैदानमा फ्लड लाइट जडान गर्ने कुरा पनि उब्जँदै, सेलाउँदै गरेको धेरै काल बितिसक्यो। धुर्मुस सुन्तलीले सुरु गरेको मैदान ऋणमा चुर्लुम्म डुबेको दाबी गर्छन्। बाँकी रंगशालाको लागि वर्षमा एक करोड पनि पनि विनियोजन हुँदैन।

‘देशको यस्तो अवस्था छ, कसरी बन्छ रंगशाला?’ विनोदको प्रश्न छ।

खासमा सरकारी काम धेरै ढिलो हुन्छ। योजना बनाउनै कयौँ वर्ष लाग्छ। बजेटमा समेटिन र आयोजना सम्पन्न हुने वर्षौँ लाग्छ। ‘रंगशाला बनाउने पब्लिक पार्टनसिप मोडेल पनि देख्यौँ। दोषारोप गर्न खोजेको त होइन तर चन्दा संकलन गरेर रंगशाला बनाउन त नसकिने रहेछ,’ चितवन भरतपुरको गौतमबुद्ध रंगशालाबारे विनोद भन्छन्।

रंगशाला निर्माणस्थलमा विनोद र सुदीक्षा।

रंगशालाका लागि सबै लगानी आफैं गर्ने भएकाले व्यक्तिगत स्वामित्त्वमा काम गर्न सजिलो हुने विनोदको भनाइ छ। ‘मैले समयभन्दा अघि नै पैसा जोहो गरेँ भने तोकिएको समयभन्दा अघि नै काम पूरा गर्न सक्छु। यो विश्वास छ। सरकारी निकायमार्पत् काम गर्दा बोलपत्रदेखि विविध झन्झट हुन्छन्। मैले त लु गरौँ भन्नेबित्तिकै सुरु गर्न सकिन्छ नि,’ उनी भन्छन्, ‘हामीले सरकारको मुख कति ताक्नु, मानिस पनि सरकार नै हो।’

उनको यस्तै आकांक्षाले अहिले रुपन्देहीमा रंगशालाले आकार लिँदैछ। नेपालको ओलम्पिक, एन्फा, नगरपालिका, नेपाल क्रिकेट संघ, प्रदेश खेलकुद परिषद्लगायत खेलसंबद्ध संस्थाका प्रतिनिधि शिलान्यास कार्यक्रममा उपस्थित भएका थिए। सरकार आफैंले गर्नुपर्ने काम कुनै व्यक्तिले गर्दैछ भन्ने सुनेपछि सरकारी निकायका प्रतिनिधिहरूलाई पक्कै त्यहाँ बोल्न गाह्रो लागेको हुनुपर्छ। यद्यपि सबैले शुभकामना भने व्यक्त गरे।

तिलोत्तमाका मेयर रामकृष्ण खाणले रंगशाला बनेपछि रंगशाला चलाउन सहयोग गर्ने बताए। ‘रंगशाला बनेपछि राष्ट्रिय क्रिकेट प्रतियोगिता गराउन नगरपालिकाले साथ दिनेछ। यसलाई तीन तहको सरकारले सहयोग गर्नुपर्छ। नगरपालिकाले साथ दिनेछ। आउदो दिनमा अरु क्षेत्रमा पनि लगानी गर्नुहोला,’ नगरपालिकाका मेयर खाणले भनेका थिए।

एन्फाका उपाध्यक्ष दीर्घबहादुर केसीले नेपाली क्रिकेट सम्भावना बोकेको क्षेत्र भएको र त्यसमा पनि रुपन्देही उर्वर भूमि भएको कुरा गौरवको विषय भएको बताए। ‘यस्ता रंगाशाला यो क्षेत्रमा आवश्यक छ। भोलि यो क्षेत्रमा खेल पर्यटनको विकासका गर्दै लैजाँदा बाटा घाटा, पर्यटकको लागि होटेल र सुरक्षा व्यवस्था सरकारले गर्नुपर्छ,’ उनले भने।

क्यान(नेपाल क्रिकेट संघ)का केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लका अनुसार नेपालमा रंगशाला निर्माणको घोषणा मात्र हुने तर काम भने नहुने परिपाटी छ। ‘मूलपानी शिलान्यास भएको १७ वर्ष भयो, भैरहवा पनि १२ वर्ष भयो अझै सकिएन। हामीले बजेट पार्न सकेको छैन,’ उनले दुखेसो पोखे।

लुम्बिनी खेलकुद् परिषद्का सदस्यसचिव जयप्रसाद भट्टराईले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘यहाँहरुले सही तरिकाले अघि बढ्न सक्नु भयो भने हामी सहयोग गर्छौं। म सफलताको शुभकामना दिन चाहन्छु,’ उनको भनाइ छ, ‘यो मैदान सम्पन्न भएपछि हामी खेल गराउँछौं।’

तिलोत्तमाकी उपमेयर जगेश्वरदेवी चौधरीले मेयरकै कुरामा समर्थन जनाइन्। ‘हामी यो मैदान बनेपछि महिलाहरुको क्रिकेट प्रतियोगिता गराउनेछौं। तोकिएकै समयमै सम्पन्न होस्। यो रंगशालाले यो १७ नम्बर वडा नै रंगीन भएको महशुस गरेको छु,’ शिलान्यास कार्यक्रममा चौधरीले भनेकी थिइन्।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह र खेलकुद परिषद्ले कस्तो सहयोग गर्छ कसैलाई भर छैन। तर विनोदलाई विश्वास छ। ‘सबैले प्राइभेट भन्नुभएको छ। तर म त्यसो भन्दिनँ। धेरै सरकारी अधिकारीको साथ छ। आधारभूत कुरामा सरकारले सहयोग गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त छु। र, सरकारले खेलकुद गराउँदा पनि मैले सहयोग गर्नेछु,’ विनोदले भने, ‘म पनि नेपालको हो, मेरो पनि दायित्व छ। मेरा अरु पनि थुप्रै योजना छन्।’

रंगशाला बन्ने भएपछि सबैभन्दा धेरै खुसी को छ भनेर खोज्ने हो भने पूर्वअन्तर्राष्ट्रिय खलाडी शक्ति गौचन सुरुतिरै आउँछन्। यो रंगशालाबाट समग्र लुम्बिनी क्रिकेटले दशौं ट्यालेन्ट जन्माउन सकिन्छ भन्ने कुरामा विश्वस्त छन् गौचन।

‘मैले जुन सपना देखेको थिएँ, विपनामा परिणत हुँदैछ। मैले पनि एकेडेमी छ। त्यसमा सिकाउन मात्र मिल्छ, खेलाउन मिल्दैन। सिद्धार्थ रंगशालामा प्रतियोगिता भइरहने हुँदा सिकाउने पाइँदैन। तर अब यो बनेपछि खेलाउने पाइने आशा छ,’ गौचनले हाँस्दै भने।

विनोदले रंगशालाको जिम्मेवारी शक्तिलाई नै सुम्पिएका छन्। ‘सफलताको आधार भनेकै विश्वास हो। हामी नेपालकै उत्कृष्ट एकडेमी बनाउने छौँ। यसको जिम्मेवारी शक्ति गौचनलाई दिएको छु। म आर्थिक पाटो हेर्छु,’ विनोद विश्वस्त देखिन्छन्।

गौचनले भने लुम्बिनीको क्रिकेटलाई गतिशील बनाउने सोच राखेको बताउँछन्। भन्छन्, ‘ट्यालेन्ट धेरै छन्। तर ‘ग्रुम’ गर्न सकिएको छैन। हामीले अन्तर्राष्ट्रिय स्तरको एकेडेमी बनाउन सके सपना पूरा हुने थियो कि!’ शक्तिले भने, ‘मैले परिवारको कुरा नसुनेर क्रिकेट खेलिरहेँ। जागिरले क्रिकेटमा टिकेँ। यस्तै खेलाडीलाई पनि नेपालमा टिकाउनका लागि यो मैदानले आधार निर्माण गर्छ भन्ने लाग्छ।’

शक्तिका अनुसार उनीहरुले खेल्दा जुन सुविधा थियो, त्यो अहिलेको तुलनामा २० प्रतिशत मात्र थियो। त्यस्तो अवस्थामा त लुम्बिनीले चार पाँच जना राष्ट्रिय टिममा पुग्ने क्रिकेटर जन्माएको थियो।

‘शतप्रतिशत सुविधा भयो भने झन् कति जन्मिएलान्?’ शक्ति गम खान्छन्। तर उनका अनुसार अब नयाँ खेलाडी तयार गर्ने हो भने सुरुबाटै टेस्टसँगै तीनै फर्म्याटको क्रिकेट खेल्न सक्ने स्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्छ।

सुन्दा अचम्म लाग्ला तर तनहूँबाट ८०० ट्रक माटो ल्याएर १० दिनमा मैदान सम्याइएको हो। ‘त्यहाँको माटोमा ७० प्रतिशत क्ले हुने भएकाले हामीले टेस्ट गरेर ल्याएको हो,’ मैदानमा क्युरेटर माधव पाठकले भने। उनले मैदान बनाउने जिम्मेवारी लिएका छन्।

विनोदकै अनुसार पनि उनले लगनशील टिम पाएका छन्। ‘४३ डिग्री घाममा पनि साथीहरूले बिहान ५ बजेबाट बेलुका साढे ७ बजेसम्म काम गरेर मैदान खार्ने काम सम्पन्न भएको छ,’ उनी भन्छन्, ‘मैदान नबन्ला कि भन्ने दोधार हटाउन हामीले धमाधम काम गरेका हौँ। तपाईंले अहिले आकार देख्नुभएको छ। मैदान यही नै हो।’

पृष्ठभूमिमा रानीमहलसहित विनोद र सुदीक्षा।

विनोदका अनुसार आउँदो ६ देखि ७ महिनामा घाँस पलाउँछ र पीच बनाएर खेल्न मिल्ने हुन्छ। उनले समयमै काम सम्पन्न गर्न विदेशमा सिकेका हुन्। भन्छन्, ‘त्यहाँ समयमै नसके पेनाल्टी लाग्छ। हामीले त्यो काम यहाँ गर्ने हो।’

अरु कसैले साथ देओस्/नदेओस् विनोदलाई सुदीक्षा गौतमले साथ दिएकी छन्। सुदीक्षा तिनै हुन् जसको खातिर विनोद मैदान बनाउँदै छन्। विनोदकी श्रीमती। सुदीक्षा पनि मैदानको निर्माणका लागि उत्तिकै लगनशील छिन्।

‘२५ हजार दर्शक क्षमताको प्यारापिट र सय जानलाई राखेर प्रशिक्षण गराउने एकेडेमी पाँच वर्षमा तयार हुनेछ,’ सुदीक्षा भन्छिन्। सुदीक्षाका अनुसार पहिलो वर्ष मैदान र पाँच हजार दर्शक क्षमताको मैदान बन्नेछ। दोस्रो वर्ष चार तलाको भवन र छत तयार हुनेछ। त्यस्तै तेस्रो वर्ष फ्डलाइट राख्ने योजना छ।

त्यस्तै, चौथो वर्षदेखि त्यहाँ डिजिटल बोर्ड देख्न पाइनेछ। हरेक वर्ष पाँच हजार दर्शक क्षमता थप गर्दै जाँदा पाँचौँ वर्षमा नसकिएका सबै काम सक्ने सुदीक्षाले योजना सुनाइन्।

को हुन् रंगशालाका जन्मदाता विनोद?
गुल्मीमा जन्मिएका विनोद उच्च शिक्षाका लागि लुम्बिनी झरे। लुम्बिनीमा पढ्दै गर्दा उनलाई विदेश जाने रहर जाग्यो। उनी अस्ट्रेलिया जाने प्रक्रियाका लागि काठमाडौं पुगे। उतिबेला उनको धेरै ठूलो सपना थिएन। अलिअलि कमाइएछ भने गुल्मीबाट तराई झारेर घर बनाउनेबाहेक सपना नै थिएन।

अस्ट्रेलिया पुगेको सुरुवाती दिनमा खुबै दुःख पाए। महिनौँसम्म ट्रेन स्टेसनमै सुत्न बाध्य भए। प्रवासमा मेहेनत छाडेनन्। विस्तारै उनको कमाइले एउटा कोठाको भाडा उठ्न लाग्यो, घर खर्च नेपाल पठाउन लागे।

अस्ट्रेलियामा नै आईटी कम्पनी खोले। त्यही कम्पनीको निरन्तरताले उनमा आफ्नै देशमा केही गर्ने हुटहुटी चल्यो। देशलाई चिनाइरहेको क्रिकेट खेलको एउटा क्रिकेट रंगशाला बनाउनु पर्छ भन्ने दिमागमा खेलेपछि उनी नेपाल हानिए, अनि सुरु एक्स्ट्राटेक रंगशाला।

‘करियर बनाउनको लागि धेरै प्रयास गर्दागर्दौ ९ वर्ष बिताएको छु। विदेशमा गएपछि देशको माया बढ्यो। मैले ट्रेन स्टेसनमा धेरै दिन विताएँ। तर राम्रो काम गर्नका लागि धेरै हतारिनु हुँदैन। मैले जुन काम गरेँ त्यसले आज मुर्तरुप लिएको छ,’ उनी भन्छन्।

रंगशाला निर्माण सुरु गर्नुअघि पनि उनले नेपाली समाजमा धेरै सहयोग गरे। महावीर पुनमार्फत् साढे १५ लाखको सिलिन्डर कोभिडको बेलामा सहयोग गरे। त्यही बेला पत्रकार महासंघलाई पनि तीन लाख सहयोग गरे।

मन्दिर बनाउन, आफू जन्मेको ठाउँमा हरेक वर्ष राहत बाँड्न, छरछिमेकमा सहयोग गर्न त उनलाई बानी परिसक्यो। ‘यो त समाजको लागि रह्यो। अब देशको लागि सहयोग गर्नुपर्छ भनेर मैले रंगाशाला बनाउन हौसिएको छु,’ गम्भीर भएर विनोद भन्छन्।

रंगशालाको डिजाइन।

यी सबै कुराका लागि उनलाई आर्थिक स्रोत जुटाउने माध्यम हो उनको आईटी कम्पनी। सबैलाई थाहा भएकै कुरा हो, अस्ट्रेलियामा आफ्नो सेक्टरमा काम पाउन गाह्रो छ। ‘मैले मानिसलाई आफ्नो सेक्टरमा काम लगाउने गर्छु। विगत तीन वर्षमा ११०० प्लस नेपालीलाई आफ्नो फिल्डमा काम लगाएको छु। म यो काम सुरु गर्ने पहिलो नेपाली हो,’ विनोदले भने।

नेपालमा इन्जिनियरिङ अध्ययन गरेका मानिस त्यहाँ नन् प्रोफेसनल क्षेत्रमा काम गर्छन्। ‘त्यसैले हामीले यो काम गरिरहेका हौँ। यो कामकै सफलता स्वरुप मैले क्रिकेट मैदान बनाउने सपना देखेको हुँ। धेरै नै महँगो प्रोजेक्ट हो यो,’ विनोद सुनाउँछन्।

तर क्रिकेट मैदानका वृत्ताकार जग्गा चाहिने हुँदा मिलाउन गाह्रो हुन्छ। त्यसैले धेरै मानिसले क्रिकेट रंगशाला बनाउन आँट गरेका छैनन्। उनी क्रिकेट फ्यान भएर नै होला क्रिकेटबारे धेरै ज्ञानसमेत भएको। हुन पनि उनले नेपाली क्रिकेट डिभिजन फाइभबाटै निरन्तर पछ्याएका छन्।

नेपालले डिभिजन फाइभमा जितेर आउँदाको शक्ति र पारसको फोटो अझै उनीसँग छ। अझ उनी इन्जिनियरिङको परीक्षा हुँदा पनि क्रिकेट हेर्न छोड्दैन थिए। ‘मेरो त्यस्तो क्रेज हो। एउटा मैदान बनाएर त्यसलाई मूर्त रुप दिनका लागि कर्तव्य रहन्छ,’ उनले भने।

प्रकाशित: २०८० असार ५ गते मङ्गलबार ०६:४१
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना