काठमाडौँ: मुलुकमा पूर्वाधार विकासका आयोजनाहरूको विस्तारसँगै निर्माण सामग्रीको माग बढ्दो क्रममा रहेका वेला नवलपरासीमा नयाँ स्टिल उद्योग सञ्चालनमा आउने भएको छ। ३० करोड २० लाख रुपैयाँको लगानीमा स्थापना हुन लागेको अतुल्य स्टिल प्रालिले दैनिक १०० टन तारजाली (ग्याबिन बक्स) र ६६ टन जीआई वायर उत्पादन गर्ने लक्ष्य राखेको छ।
निजी लगानीमा सञ्चालनमा आउन लागेको उद्योगको कुल लगानीमध्ये १९ करोड ६० लाख रुपैयाँ बैंकको ऋण र बाँकी १० करोड ६० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ। ६५ प्रतिशत ऋण र ३५ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ। हालसम्म ५६ प्रतिशत इक्विटी लगानी भइसकेको छ।
व्यवसायी अभय शर्मा र स्वीकार आचार्यको संयुक्त लगानीमा स्टिल उद्योग सञ्चालनमा आउन लागेको हो।
हाल कारखाना पूर्वाधार निर्माण जारी छ। उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने हालसम्म ६४ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। कारखाना भवनको संरचनात्मक कार्यहरू सम्पन्न भइसकेका छन्। बाँकी भवन कार्यहरू पूरा भएपछि स्थापना र प्लान्ट सञ्चालन सुरु हुने अपेक्षा गरिएको छ।
उद्योग नेपाल–भारत सीमामा रहेको नवलपरासीको दुम्किवासमा रहेको छ। उद्योगले ग्याविन बक्स र जीआई वायर बनाउन आवश्यक कच्चा वस्तु तार रडहरु भारतबाट आयात गर्ने भएको छ। कारखाना भारतीय सीमाको निकटतामा रहेकोले भाडा लागत बचत हुने देखिएको छ।
अत्यधिक प्रतिस्पर्धी र खण्डित उद्योगकोबीचमा आफ्ना ग्राहकहरूलाई सामग्री मूल्यहरूमा परिवर्तनहरू पार गर्न र विदेशी विनिमय उतार–चढाव जोखिमहरू व्यवस्थापन गर्न मुख्य मूल्यांकन संवेदनशीलता हुने जनाएको छ।
फलाम र इस्पातको माग बढ्ने अपेक्षा गरिएको छ। निकट भविष्यमा उद्योगमा प्रतिकुलता देखिए पनि मध्यम अवधिमा देशमा स्टील उत्पादनको माग बढ्ने अपेक्षा गरिएको छ।
नेपाली अर्थतन्त्र विकासशील र बढ्दो छ। पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीको चरणमा छ। सार्वजनिक साथै निजी पूर्वाधार, सडक, पुल र अन्य सार्वजनिक सुविधाहरूको विकासमा निर्माण सामग्रीको आवश्यकतालाई ध्यानमा राख्दै स्टीलको माग निरन्तर बढ्ने सम्भावना छ।
अतुल्य स्टिलको स्थापना सन् २०२२ मा भएको हो।


