काठमाडौँ: सोमबार सुर्खेतबाट पक्राउ परेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ। सोमबार नै रात्रिबसमार्फत पौडेललाई काठमाडौँ ल्याइएकोमा काठमाडौँ पुगेलगत्तै विभागमा उपस्थित गराइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो। उनीमाथि गरिएको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेका बेला पक्राउ गरिएको हो। पौडेल पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए। त्यही क्रममा उनलाई नियन्त्रणमा लिइएको थियो।
पौडेलले राज्यसत्तामा रहँदा सम्पत्ति शुद्धीकरणको अनुसन्धानकै क्रममा पक्राउ परी कारागारबाट मुद्दाको पुर्पक्ष गरिरहेका विवादित व्यवसायी दीपक भट्टसहित केही व्यापारिक तथा स्वार्थ समूहलाई फाइदा पुग्ने निर्णय गरेको आरोप उनीमाथि छ। ती निर्णयको बदलामा प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक लाभ लिएको हुनसक्ने भन्दै अनुसन्धान भैरहेको छ।
उनको तथा परिवारसँग जोडिएका सम्पत्ति, लगानी र सेयर कारोबारको स्रोतबारे छानबिन र आयस्रोत र सम्पत्तिबीच अस्वाभाविक सम्बन्ध छ कि छैन भन्ने अध्ययन पनि भैरहेको छ।
यसक्रममा विभिन्न कम्पनीसँगको सम्भावित आर्थिक सम्बन्ध र कारोबारको विवरण संकलन तथा अनुसन्धानका क्रममा पौडेलको निवासबाट कागजातसमेत नियन्त्रणमा लिइएको थियो।


