काठमाडौं।सरकारको गलत नीतिका कारण स्वदेशी उद्योगहरु मारमा पर्दै आएका छन्। यस्तै सरकारको गलत नीतिका मारमा विद्युतीय ट्रान्सफरमर उत्पादन गर्दै आएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) प्रालि परेको छ।
निकले नेपालमा गुणस्तरिय ट्रान्सफरमर उत्पादन गरेर भुटानलगायत मुलकहरुमा निर्यात गर्दै आएको छ। विदेशमा निर्यातको हैसियत भएको निकको ट्रान्सफरमर सरकारी निकायको रोजाइमा परेको छैन्। प्रतिस्पर्धाको नाममा उनीहरुको रोजाइ कम गुणस्तरका चिनियाँ ट्रान्सफरमरमा रहेको छ।
विद्युत प्राधिकरणले ग्लोबल टेन्डर गरेर अधिकाँश विद्युतीय ट्रान्सफरमर चीनबाट आयात गर्दै आएको छ। नेपालमा निकले चिनियाँ कम्पनीहरुको भन्दा उच्च गुणस्तरको ट्रान्सफरमर उत्पादन गर्र्दै आएको छ।
यद्यपि, निजी क्षेत्रले भने निकले उत्पादन गर्दे आएको ट्रान्सफर खरिद गर्दै आएको छ। नेपालमा सबैभन्दा बढी ट्रान्सफरमर खरिद गर्ने विद्युत प्राधिकरणको रोजाइमा स्वदेशी उद्योग निक हैन चिनियाँ ट्रान्सफरमर पर्ने गरेको छ।
चिनियाँ ट्रान्सफरमा तामाको तारको सट्टा आलमुनियम राखेको भेटिएपछि एक दशकअघि विद्युत प्राधिकरण तत्कालिन कार्यकारी निर्देशकसम्म अदालतमा मुद्धा धाउनु परेको थियो।
निक ब्राण्डको ट्रान्सफरमर गुणस्तरिय रहेको विद्युत प्राधिकरणको हेटौडालगायत अन्य प्रयोगशालामा गरिएको परीक्षणले देखाएको छ।
स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू सस्ता चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाका कारण दबाबमा परेको देखिएको छ। यही दबाबको प्रत्यक्ष असर नेपालकै पुराना ट्रान्सफर्मर उत्पादकमध्ये एक निक ब्रान्ड निर्माण गर्ने कम्पनीको व्यवसायमा परेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको हालैको मूल्यांकन प्रतिवेदनअनुसार निकले आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो उत्पादन क्षमताको केवल सात प्रतिशत मात्र उपयोग गर्न सकेको छ।
अघिल्लो आर्थिक वर्षमा क्षमता उपयोग १७ प्रतिशत थियो। वार्षिक १८ हजार युनिट ट्रान्सफर्मर उत्पादन गर्न सक्ने उद्योगको ठूलो हिस्सा खाली बस्दा स्थिर लागत बढेको र त्यसले व्यवसायको प्रतिफलमा असर गरेको प्रतिवेदनले औँल्याएको छ।
उद्योगको सञ्चालन आम्दानी पनि उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी घटेर २०८१/०८२ मा ९३ करोड ५० लाख रुपैयाँमा झरेको छ। विद्युत् प्राधिकरणका ठूला आयोजना कम हुनु र व्यवसाय मुख्यतः निजी क्षेत्रका साना आयोजनामा सीमित रहनु यसको प्रमुख कारण मानिएको छ।
निर्याततर्फ कम्पनीले विगतदेखि भुटानमा ट्रान्सफर्मर पठाउँदै आएको भए पनि गत आर्थिक वर्षमा निर्यात अपेक्षाकृत कम भएको जनाएको छ। चालु वर्ष पुनः निर्यात विस्तार गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ।
यद्यपि व्यवसायमा केही सकारात्मक संकेत पनि देखिएका छन्। प्रतिवेदनअनुसार सन् २०२६ मेसम्मका लागि कम्पनीसँग करिब ९५ करोड ७० लाख रुपैयाँ बराबरका खरीद आदेश सुरक्षित रहेकाले आगामी अवधिमा आम्दानी सुधार हुने अपेक्षा गरिएको छ।
तर कच्चा पदार्थको मूल्यमा उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा हुने परिवर्तन तथा विदेशी उत्पादकसँगको मूल्य प्रतिस्पर्धा कायम रहेसम्म स्वदेशी ट्रान्सफर्मर उद्योगको नाफा सुधार सहज नहुने प्रतिवेदनले निष्कर्ष निकालेको छ।
निकले भुटानमा साझेदारीमा ट्रान्सफरमर उद्योग खोलेको छ। यसमा निकको ३५ प्रतिशत साझेदारी भएको बताइएको छ।


