पाटन- उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिए।
गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखाउँदै बन्द गराएको थियो। त्यसविरुद्ध उच्च माध्यमिक विद्यालय एसोसिएसन (हिसान)ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।
महानगरले एसईई नतिजा सार्वजनिक नहुँदै ११ कक्षाको भर्नालाई प्रभावित गर्ने गरी मेला लगाउन लागिएको भन्दै बन्द गरेको थियो। नेपालको संविधानअनुसार विद्यालय तहको शिक्षा आफ्नो मातहतमा पर्ने भन्दै महानगरले माध्यमिक तहअन्तर्गत पर्ने ११ कक्षाको भर्ना केन्द्रित मेला नगर्न भनेको थियो।


