ताप्लेजुङ– ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ। बाढीपहिरोका कारण बाटाघाटा अवरुद्ध भएसँगै विद्यालय जाने अवस्था नरहेकाले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको हो।
गत शुक्रबार, शनिबार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजंघा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजंघा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत १२२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजंघा गाउँपालिका शिक्षा शाखाले जनाएको छ। जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ।
बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजंघाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले बताए। सिरिजंघा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा छन्। बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन्।
यस्तै, सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेका छन्। सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा ३ हजार १ सय विद्यार्थी अध्ययनरत छन्। तर, अहिले बाढीपहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए।
बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी ६ साउनसम्मका लागि विद्यार्थीलाई बिदा दिइएको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले ८ असारसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराले बगाएको चार जनामध्ये एकै घरपरिवारका तीन जना अझै बेपत्ता रहेका छन्। एक जनाको सोही दिन शव फेला परेको थियो।
सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो। एक घरका बाबुछोराको शव भेटिएको थियो भने एक जना नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ।



