काठमाडौँ: भारतीय मुद्रा (भारु) सँगको विनिमयदर तत्काल पुनरावलोकन नहुने भएको छ। हाल सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भारुसँगको स्थिर विनिमयदर पुनरावलोकन गर्ने बताएको थियो।
चुनावअघि रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको १०० बुँदे बाचापत्र सार्वजनिक गरेको थियो। गत वर्ष फागुन ७ गते सार्वजनिक गरिएको बाचापत्रमा भनिएको थियो, ‘भारतीय रूपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशेष अन्तर्राष्ट्रिय प्राज्ञिक सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन हुनेछ।’
तर नेपालको अहिलेको आर्थिक अवस्थामा तत्काल पुनरावलोकन गर्ने कुनै योजना नभएको आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले जानकारी दिए। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा लिइएको उनको भनाइ छ। त्यसकारण स्थिर विनिमयदर नै यथावत रहने उनले बताए।
मौद्रिक नीतिमा भनिएको छ, ‘नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा लिइँदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रूपमा यथावत राखिएको छ।’


