काठमाडौँ: प्रवासबाट फर्कने नेपालीहरूले सुन ल्याउँदा सास्ती नपाउने भएका छन्। सरकारले आर्थिक ऐनको प्रावधानमा महत्त्वपूर्ण संशोधन गर्दै सादा स्वरूपका सुनलाई समेत गहनाकै मान्यता दिने निर्णय गरेको हो। यससँगै विमानस्थलमा यात्रुले भोग्दै आएको प्रशासनिक झन्झट हट्ने भएको छ।
यसअघि, आर्थिक ऐनको अनुसूचीमा सामान्य आकार मात्र दिएर बनाइएका बेरुवा औँठी, बाला र सिक्रीलाई गहनाको रूपमा मान्यता नदिने प्रावधान थियो। यही प्रावधानलाई आधार बनाएर भन्सारका कर्मचारीहरूले यात्रुको गहनामा रसायन प्रयोग भए/नभएको भन्दै परीक्षण गर्ने र अनावश्यक दुःख दिने गरेको सुनिन्थ्यो।
नयाँ व्यवस्थाले उक्त प्रतिबन्धात्मक प्रावधानलाई हटाइदिएको छ, जसले गर्दा अब गहनाको स्वरूपमा रहेको सुनलाई कुनै वर्गीकरण नगरी सिधै पास गरिने भएको छ।
पुरानो कानुनी व्यवस्था अनुसार, बुट्टा नभरिएका वा रसायन प्रयोग नगरिएका सुनका वस्तुलाई गहना नभई सुनको ढिक्का (बुलियन) सरह मानिन्थ्यो। यसले गर्दा वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरूले आफ्नो कमाइबाट ल्याएको सानो परिमाणको सुन पनि जफत हुने वा चर्को जरिवाना तिर्नुपर्ने अवस्था थियो। अब भने गहना जस्तोसुकै स्वरूपको भए पनि तोकिएको परिमाणभित्र रहे भन्सारले गहना नै स्वीकार्ने छ।
कति ल्याउन पाइन्छ?
नयाँ मापदण्ड अनुसार पनि वैधानिक सीमा भने यथावत राखिएको छ। विदेशबाट आउने नेपाली पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुनका गहना पूर्णतः निःशुल्क (महसुल नलाग्ने गरी) ल्याउन पाउनेछन्। सोभन्दा बढी थप ५० ग्रामसम्म प्रचलित भन्सार दर बुझाएर ल्याउन सकिनेछ भने त्यसभन्दा माथिको थप ५० ग्राममा प्रचलित महसुलका साथै अतिरिक्त ३ प्रतिशत जरिवाना लाग्ने कानुनी व्यवस्था छ।
भन्सार प्रक्रिया सहज बनाइए पनि यसले तस्करीको नयाँ ढोका खोल्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन्। जटिल बुट्टा भर्नु नपर्ने भएपछि बेरुवा गहनाका नाममा व्यावसायिक प्रयोजनका लागि सुन ओसारपसार हुनसक्ने जोखिम बढेको छ। विमानस्थल भन्सारका अनुसार, पछिल्लो समय झिटिगुन्टा सुविधा मार्फत भित्रिने सुनको परिमाणमा केही वृद्धि देखिएको छ, जसले बैंकहरू मार्फत हुने आधिकारिक आयातलाई केही हदसम्म प्रभावित पार्न सक्छ।
