आगामी सन् २०३० मा विश्व फुटबल महासंघ (फिफा) ले टोलीको संख्या बढाएर ६४ सम्म विस्तार तयारी गरेको छ। फिफाको यस्तो तयारीसँगै यसका पक्ष र विपक्षमा बहस सुरु भएको छ।
हालैसम्पन्न विश्वकपमा धेरै मुलकहरुलाई सहभागी गराउने भन्दै फिफाले टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याएको थियो।
फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
स्पेनिस फुटबल लिग ला लिगाका अध्यक्ष जाभियर टेबासले सन् २०३० को विश्वकप ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफललाई लिएर फिफा गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन्।
मंगलबार प्रकाशित इटालियन खेल दैनिक ला ग्याजेटा डेलो स्पोर्टसँगको अन्तर्वार्तामा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वकाल समाप्त भइसकेको टिप्पणी गर्दै वर्तमान व्यवस्थालाई ‘आधारभूत रूपमै त्रुटिपूर्ण प्रणाली’ को संज्ञा दिए।
“फुटबल उद्योग भनेको केवल विश्वकप मात्र होइन, चाहे त्यो जतिसुकै महत्त्वपूर्ण किन नहोस्,” उनले भने।
उनका अनुसार फिफाले ४० दिनसम्म सञ्चालन हुने सीमित अवधिको प्रतियोगितालाई प्राथमिकता दिँदै हजारौँ रोजगारी सिर्जना गर्ने समग्र फुटबल उद्योगलाई कमजोर बनाइरहेको छ।
विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग
गत जुनमा भएको विश्वकप उद्घाटन समारोहका क्रममा इन्फान्टिनोले सन् २०३०को विश्वकपको शताब्दी संस्करणलाई ६४ टोलीसम्म विस्तार गर्ने विषयमा छलफल भइरहेको बता्एका थिए।
उक्त विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुनेछ। पाराग्वे, उरुग्वे र अर्जेन्टिनामा पनि केही खेल सञ्चालन हुनेछन्।
टेबासले प्रतियोगिताको व्यस्त तालिकाप्रति आफूहरूले पटक–पटक चिन्ता व्यक्त गर्दै आएको उल्लेख गर्दै ६४ टोलीको विश्वकपले फुटबल क्यालेन्डरलाई अझ जटिल बनाउने बताए।
“घरेलु लिगहरूले नै फुटबललाई जीवन्त राखेका छन्,” उनले भने, “हामीलाई कम अन्तरर्राष्ट्रिय प्रतियोगिता र सबै तहमा घरेलु फुटबलको अझ प्रभावकारी संरक्षण आवश्यक छ। तर फिफाले त्यसलाई बेवास्ता गर्दै गैरजिम्मेवार निर्णय गरिरहेको छ।”
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई पराजित गर्दे स्पेनले जित्यो विश्वकपको उपाधि
हालै सम्पन्न विश्वकपमा स्पेन विजेता भएको छ। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उपविजेतामा चित्त बुझाएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट १५ अर्ब डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो।
फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज तथा दोस्रो बजारमा टिकट कारोबारबाट भएको आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो।
सेकेन्डरी बजारमा टिकट खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र बिक्रेता दुबैबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था गरेको छ।


