काठमाडौँ: बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाज थपेको छ। कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो। आवश्यक कागजी प्रक्रिया पूरा भएपछि जहाजलाई आगामी महिनादेखि व्यावसायिक उडानमा ल्याइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री हुनुका साथै अघिल्लो सिरिजको तुलनामा कम ध्वनि प्रदूषण गर्ने दाबी गरिएको छ।
जहाजमा आवश्यक नेभिगेसन कार्यसम्पादन–विशेष स्वीकृती आवश्यक (आरएनपी–एआर) एप्रोच प्रणाली जडान गरिएको छ, जसको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित अवतरण गर्न सकिने जनाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यही प्रणाली लागू गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरिरहेको छ।
कम्पनीका अनुसार नयाँ प्रविधिले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घटाउने, उडान सुरक्षामा सुधार ल्याउने तथा हवाई सेवाको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।
बुद्ध एयरले अर्को एटीआर–७२–६०० जहाज अगस्ट अन्त्य वा सेप्टेम्बरको सुरुतिर भित्र्याउने तयारी गरेको छ। साथै आगामी केही महिनाभित्र यही सिरिजका थप दुई जहाज थप्ने योजना पनि कम्पनीको छ। हाल बुद्ध एयरसँग एक एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एक एटीआर–७२–६०० गरी १७ वटा जहाज सञ्चालनमा छन्।
कम्पनीले हाल आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौँ–वाराणसी र काठमाडौँ–कोलकाता नियमित उडान सञ्चालन गर्दै आएको छ।
