काठमाडौँ: धितोपत्र बजारमा अस्वाभाविक चलखेल र बीमा सम्बन्धी कसुरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छासँग जिल्ला अदालत काठमाडौँले १ करोड रुपौयाँ धरौटी मागेको छ।
न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार गोल्छालाई दुई छुट्टाछुट्टै कसुरमा गरी कुल १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार गोल्छासँग बीमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
गोल्छाको विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुसन्धान प्रतिवेदनले भट्टले सेयर बजारमा कृत्रिम कारोबार गरी मूल्यमा चलखेल गरेको र उक्त कार्यमा गोल्छाले सहयोग गरेको निष्कर्ष निकालेको थियो।
सेबोनको प्रतिवेदन अनुसार भट्टले आफ्नै लगानी रहेका इन्फिनिटी होल्डिङ्ग, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स जस्ता कम्पनीहरूबीच आपसमा सेयर खरिद-बिक्री गराई कृत्रिम मूल्य बढाएका थिए। यसरी सस्तोमा सेयर किनेर आफ्नै अर्को कम्पनीलाई महँगोमा बेच्ने ‘सेटिङ’ मा गोल्छाले आर्थिक र प्राविधिक सहयोग पुर्याएको आरोप छ।
गोल्छामाथि रकम भुक्तानी नै नगरी साढे ५२ करोड रुपैयाँ बराबरको सेयर खरिद तथा राफसाफ गरी कसुरमा सहयोग गरेको आरोप छ।


